काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चक्रपथ क्षेत्रभित्र अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ । सोमबार जेनजी युवाको प्रदर्शनमा भएको हिंसात्मक घटना र त्यसपछि उत्पन्न तनावका कारण यो निर्णय लिइएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार, आज बिहान ८:३० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको छ । यसअघि सोमबार बेलुका ५ बजेदेखि लगाइएको कर्फ्यु आज बिहान ५ बजे समाप्त भएको थियो ।
प्रशासनले तोकेको कर्फ्यु क्षेत्रमा बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभाग पर्छ ।
कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरूबाहेक अन्यलाई हिँडडुल गर्न, सभा-जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।