दाङ । मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको अवस्था छ । आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं । साथै पत्रकारलगायत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
अहिले पनि कतिपय स्थानमा निषेधित क्षेत्र घोषणा गरिएको तथा कर्फ्यू लागिरहेको स्थिति छ । यस्तो कठिन समयमा पनि पत्रकारहरूले आफ्नो सञ्चारकर्म निर्वाह गरिरहेका छन् । सञ्चारकर्मीमाथिको आक्रमण र सञ्चारगृहमाथिको तोडफोडप्रति खेद व्यक्त गर्दछौं । संवेदनशील अवस्थालाई मध्यनजर गर्दै पत्रकारले आफ्नो सुरक्षालाई पहिलो प्राथमिकता राखी पेशागत दायित्व निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।
कार्यक्षेत्रमा खटिँदा पत्रकार साथीहरूले आफ्नो स्पष्ट परिचय खुल्ने परिचयपत्र (प्रेस कार्ड) बोक्न, सम्भव भए प्रेस लेखिएको ज्याकेट लगाउन, समूहमा रहन, आवश्यकताअनुसार सुरक्षाका अन्य उपायहरू अवलम्बन गर्न पनि आग्रह गर्दछौं । रिपोर्टिङका क्रममा असहज/असुरक्षित महसुस भए वा त्यस्तो परिस्थिति सिर्जना भए अविलम्ब सम्बद्ध शाखा वा प्रदेश समितिलाई जानकारी गराउन पनि सबैमा हार्दिक अनुरोध छ । फेरि पनि सुझबुझपूर्ण र जिम्मेवार पत्रकारिताका लागि स्वयं सचेत रहन र सहज वातावरण सिर्जना गरिदिन सम्बद्ध सरोकारवालासँग अपील गर्दछौं ।
पाण्डवप्रसाद शर्मा
महासचिव