बाँके । जिल्लाका विभिन्न क्षेत्रमा पछिल्लो समय चोरहरुले आतंक मच्चाएपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। रातको समयमा घर तथा पसल तोडफोड गर्ने, मूल्यवान सामान चोरी गर्ने घटना दिनानुदिन बढिरहेको स्थानीयले बताएका छन्।
स्थानीयवासीका अनुसार, चोरहरुको डरका कारण राति ढुक्कसँग सुत्नसमेत मुस्किल भएको छ। कतिपय बस्तीमा महिलाहरू, वृद्धवृद्धा र बालबालिकाले अझ बढी असुरक्षित महसुस गरिरहेको पाइन्छ।
चोरीका घटनाले व्यापारी तथा दैनिक कामकाजी वर्गलाई पनि ठूलो समस्यामा पारेको छ। पसलमा ताल्चा लगाएर निस्कनुपर्ने अवस्थामा चोरले ताल्चा तोड्ने गरेको गुनासो व्यापारीहरुले गरेका छन्।
यसैबीच,जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी दिपक पातलीले सुरक्षालाई कडाइका साथ अगाडि बढाइने जनाएको छ। बाँके प्रहरीका अनुसार,गस्ती बढाइएको छ र चोरहरुलाई पक्राउ गर्ने प्रयास भइरहेको छ।
स्थानीयवासीले तत्काल कडा कारबाही र दीर्घकालीन सुरक्षाको व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।