काठमाडौं । जेनजी आन्दोलनमा हतियारसहित प्रदर्शनमा उत्रिएका टीओबी (तिब्बतीयन आरिजिनल ब्लड) समूहका तेन्जेन दावासहित पक्राउ परेकाहरुमाथि अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ ।
उनीहरूविरुद्ध अभद्र व्यवहारको मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जनाए ।
जेनजी आन्दोलनका क्रममा ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर हिँड्ने समूहबारे प्रहरीले अनुसन्धान थालेको थियो ।
आन्दोलनका बेला बिजुलीबजार पुलमा ‘पेस्तोल’सहित देखिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले दावालगायतका व्यक्तिमाथि अनुसन्धान गरिरहेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा दावाले भिडियोमा देखिएको पेस्तोल सक्कली नभएको दाबी गरे पनि त्यसको पुष्टि भइसकेको छैन । उनी आफै उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेपछि सोधपुछका लागि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।
पेस्तोल र तिब्बतीयन ओरिजिनल ब्लडकै बारेमा थप केही अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले उनीहरूमाथि अभद्रको कसुरमा म्याद थप गरेको स्रोत बताउँछ ।