काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै एकैपटक १६८ जना सशस्त्र प्रहरी अधिकृतको कमाण्ड जिम्मेवारी बदली गरेको छ। डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी नायव उपरीक्षक २६ जना, सशस्त्र प्रहरी निरीक्षक ९३ जना र सशस्त्र प्रहरी नायव निरीक्षक ४९ जना गरी जम्मा १६८ जनाको बदली गरिएको छ।
उनका अनुसार मुख्यालयले कमाण्डमा खटिने अधिकृतको पहिले नै पूर्वानुमान सूची प्रकाशन गर्ने र सोही सूचीमा रहेका अधिकृतलाई कमाण्ड जिम्मेवारीमा खटाउँदै आएको छ। यसबाहेक विगतमा सीमा क्षेत्रमा खटिएर राजस्व सङ्कलनमा उत्कृष्ट कार्य गरेका अधिकृतलाई कमाण्डमा प्राथमिकतामा राखेर जिम्मेवारी दिइएको छ। वर्तमान अवस्थामा राजस्व सङ्कलनलाई विशेष जोड दिँदै सोही कार्यमा विगतको ट्र्याक रेकर्डअनुसार अधिकृतलाई जिम्मेवारी दिने नीति संगठनको रहेको छ। यस्तै, लामो समय एउटै प्रदेशमा कार्यरत अधिकृतलाई फरक प्रदेशको युनिटमा खटाइएको छ।
अनिवार्य अवकाश हुन कम अवधि बाँकी रहेका सशस्त्र प्रहरी अधिकृतलाई प्राथमिकतामा राखी कमाण्ड जिम्मेवारी खटाउने तथा आफ्नो वतन र कार्यरत क्षेत्रभन्दा फरक भौगोलिक क्षेत्रमा काम गर्ने गरी जिम्मेवारीमा खटाउँदै आएको मुख्यालयले जनाएको छ। मुख्यालयले आफूलाई तोकिएको जिम्मेवारी पूरा नगर्ने तथा आचरणविपरीत कार्यमा संलग्न अधिकृतलाई कमाण्ड जिम्मेवारीबाट हटाउँदै आएको छ।