काठमाडौं । ललितपुर महानगरपालिका १६ धौगलबाट भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्ला घोरसहन घर भएका ३१ वर्षीय अभिषेक शेखलाई बिहीबार दिउँसो पक्राउ गरिएको सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।
शेखले विगत केही वर्षदेखि अवैध रूपमा भारतबाट चाँदीका गरगहना नेपाल ल्याई बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल इन्टिलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गण ललितपुरको टोलीले उनलाई नियन्त्रणमा लिएको थापाले बताए ।
उनको साथबाट ५० किलो ७४ ग्राम चाँदीका गरगहना, १२ लाख ९१ हजार ९० रुपैयाँ नेपाली नगद, १२ सय ७० भारतीय रुपैयाँ, साथै चाँदी तौलने मेसिन, इलेक्ट्रिक स्केल, आइप्याड र मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।