२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

चार्डपर्व तिहारमा बर्सेनि भित्रिन्छ लाखौंको पटका,तस्करी रोक्न किन सक्दैन प्रहरीहरु ?

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक ०३, २०८२

विराटनगर  । २९ असोज बिहान साढे १० बजे, झापाको गौरादह नगरपालिका १ कृषि बजार क्षेत्रबाट प्रहरीले दुई बोरा सामान बरामद गर्‍यो । गौरादहका प्रहरी प्रमुख इन्स्पेक्टर चन्द्रिका कुमार श्रेष्ठको कमाण्डमा खटिएको गस्ती टोलीले गौरीगन्जतर्फबाट आइरहेको एक मोटरसाइकललाई जाँच गर्दा भेट्यो, करिब ५० हजार रुपैयाँको दुई बोरा पटका ।त्यसको अघिल्लो दिन, २८ असोज बिहान साढे ७ बजे, झापाको गौरीगन्ज गाउँपालिका–४ हुक्कागाछीस्थित सीमा क्षेत्रमा अर्को अवैध कारोबारको प्रयास प्रहरीले असफल तुल्यायो ।भारततर्फबाट लुकाएर ल्याउँदै गरिएको २० बन्डल (१००० प्याकेट) पटका प्रहरीले बरामद पर्‍यो । जसको मूल्य करिब ४ लाख थियो ।
२५ असोज राति साढे १० बजे भद्रपुरबाट ४ लाख मूल्यको पटका बरामद भयो । उक्त पटका तस्करी गिरोहले भारतबाट भन्सार छल्दै नेपाल भित्र्याइएको थियो ।यी तीनै घटनामा प्रहरीले पटका त बरामद गर्‍यो । तर, सामान भित्र्याउने कार्यमा संलग्न व्यक्ति भने पक्राउ गर्न सकेन । प्रहरी भन्छन्, ‘हामीलाई देख्नेबित्तिकै सामान छाडेर व्यक्ति भागे ।’तीनै घटनाले एउटा साझा यथार्थ उजागर गर्छ, भारत–नेपाल सीमाको कमजोर सुरक्षा संयन्त्र र तस्करीको जालो ।

खुला सीमाको फाइदा उठाउँदै साना–ठूला व्यापारीहरूले स्थानीय बस्ती र साना गाडीमार्फत पटका लुकाएर नेपाल भित्र्याउँछन् ।झापादेखि सुनसरीसम्मको करिब ३ सय किलोमिटर लामो खुला सीमामा सशस्त्र प्रहरीका दर्जन बढी बीओपीहरु छन् । तर, २४ घण्टा निगरानी गर्न सक्ने स्रोत, उपकरण र जनशक्ति पर्याप्त छैन । जसले पटका लगायतका अन्य वस्तुको तस्करी सहज बनाएको हो । ‘देखेसम्म भित्र्याउन नदिने हो’, कोशीका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले भने, ‘तर, खुला सीमानाको फाइदा उठाएर भित्र्याइहाल्छन्, हाम्रो केही लाग्दैन ।’
डीआईजी कार्कीका अनुसार खुला सीमानाको चुनौती छ । नाका सुरक्षा उपस्थिति न्यून छ । जसको फाइदा गिरोहले उठाउँछन् । ‘हामीले अवैध गतिविधि गर्न नदिन प्रयास चाहिँ निरन्तर नै गर्दै आएका छौँ’, उनी थप्छन्, ‘तर, शून्य बनाउनचाहिँ गाह्रो छ ।’
जेन–जी आन्दोलन र प्रदर्शनपछि सुरक्षा निकायको मनोबल कमजोर छ । त्यसको फाइदा उठाउँदै झापा, मोरङ र सुनसरीका विभिन्न नाकाबाट अवैध रुपमा प्रतिबन्धित पटका भित्रिरहेको छ ।

कानुनी प्रतिबन्ध, तर सामाजिक बेवास्ता
सरकारले विस्फोटक पदार्थको आयात, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । तर, बजारमा सहजै पाइने वस्तुहरूकै कारण यो कानुनको प्रभाव कमजोर बनेको छ ।
पटकामा रासायनिक तत्व (पोटासियम क्लोरेट, सल्फर र फस्फोरस) को मात्रा अत्यधिक हुन्छ, जसले आगलागी, जलन र विस्फोटका गम्भीर दुर्घटना निम्त्याउन सक्छ ।
प्रहरी अधिकारीहरूका अनुसार हरेक वर्ष उनीहरु सयौं किलो पटका नियन्त्रणमा लिन्छन् । सामाजिक सहयोग बिना यो नियन्त्रण सम्भव नभएको उनीहरु बताउँछन् ।

तिहार रमाइलोको पर्व हो, तर रमाइलोका नाममा जोखिम निम्त्याउनु सामाजिक सोचको कमजोरी रहेको उनीहरुको ठम्याइ छ । बालबालिकाहरू ठूलो आवाज र झिलिमिली बत्तीलाई रमाइलो ठान्छन् । अभिभावकले पनि ‘पर्वको मजा’ भन्दै मौन सहमति जनाउँछन् ।
यही सहमतिको मूल्य धेरैले दुर्घटनामा चुकाएका छन् । हात पोल्ने, आँखा गुमाउने, आगलागीका घटनाहरू हुने र कतिपय अवस्थामा ज्यानै समेत गुमाएका उदाहरण छन् । तर, हरेक वर्ष यो उपक्रम दोहोरिरहन्छ ।

हिमालयन कलेज धुलाबारीका प्राध्यापक सागर शिवाकोटी भन्छन्,‘तिहार उज्यालोको पर्व हो, तर अहिले धुवाँ र विस्फोटको पर्व बनाउँदैछौं । यो हाम्रो संस्कृतिमाथिको गम्भीर आक्रमण पनि हो ।’ उनका अनुसार विस्फोटक पदार्थ पड्काउँदा धुलो र धुवाँ वायुमण्डलमा मिसिन्छ, जसले वायु प्रदूषणको स्तर तीव्र रूपमा बढाउँछ ।
चिकित्सकहरुका अनुसार पटकाले श्वासप्रश्वासका बिरामी, बालबालिका र वृद्धहरूमा तत्काल असर गर्छ । चिकित्सक डा. पिताम्वर ठाकुरको चेतावनी छ, ‘उज्यालोका नाममा हामी हावा कालो बनाइरहेका छौं । हाम्रो स्वास्थ्यमाथि हामी आफैँ खेलबाड गरिरहेका छौँ ।’
पटका तस्करी नियन्त्रणका लागि प्रहरी सक्रिय त देखिन्छ । तर तस्करी सञ्जाल झनै बलियो छ ।प्रहरी स्रोतका अनुसार, सीमामा दैनिक गस्ती बढाइएको छ, सूचना सञ्जाल सक्रिय पारिएको छ । स्थानीय तहसँग समन्वय गरी चेतना कार्यक्रम पनि अघि बढाइएको छ । ‘तर, पनि हाम्रा अभिभावकहरुलाई पटका पड्काउनु हुन्न भन्ने चेत आउनै सकेको छैन’, ती प्रहरी अधिकारीले भने,‘सामाजिक अगुवाहरु अघि सर्ने हो भने यसको प्रयोग पक्कै रोकिने छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]