पर्सा । बिरगंज नेपालको तराई–मधेस क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा स्थापित धार्मिक आस्था, सामुदायिक एकता र प्रकृतिप्रतिको कृतज्ञताको सन्देश बोकेको छठ पर्वको मुख्य दिन ‘सझिया घाट’ आज सोमबार भव्य उत्साहका साथ मनाइँदै छ ।
कात्तिक शुक्ल षष्ठी तिथिमा आज व्रतालुहरूले वीरगञ्जसहित देशभरका नदी, पोखरी र तलैयामा बनाइएका छठ घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी सूर्यदेव र छठी माताको पूजा–आराधना गर्ने छन् ।
आज बिहानैदेखि व्रतालुहरूले पवित्र स्नान गरी नयाँ र शुद्ध वस्त्र धारण गरेर छठ घाटहरूमा पुग्ने छन् । वीरगञ्जको घडिअर्वा पोखरी, रानीघाटको सिर्सिया घाट, नगवा, राधेमाई, मुर्ली पोखरीलगायतका जलाशयहरू झिलिमिली बत्ती र रङ्गीचङ्गी सजावटले सजिएका छन् ।
व्रतालुहरूले बाँसको चोयाबाट बनेको ‘सुपली’ र माटोको ‘ढकनी’मा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटायुक्त नरिवल, भिजाएको केराउ, चामलको अछेता र पातसहितको मूलालगायतका सामग्री राखेर सूर्यदेवलाई अर्घ्य अर्पण गर्ने छन् ।
सूर्यास्तको समयमा व्रतालुहरूले जलाशयमा प्रवेश गरी सूर्यदेवलाई जलले अभिषेक गर्दै परिवारको सुख, समृद्धि र दीर्घायुको प्रार्थना गर्न गर्छन् । अर्घ्यपछि ‘शिरसोप्ता’ (छठी माताको प्रतीक) वरिपरि बसेर परम्परागत छठ गीतहरू गाउँदै गीतहरूमा छठी माताको महिमा र सूर्यदेवको कृपाको वर्णन गरिने छन् ।