काठमाडौं । कास्की प्रहरीले आज पत्रकार सम्मेलन गर्दै हालसम्म १८ जनालाई पक्राउ गरिएको जनाएको हो । पक्राउ परेकामध्ये १० जनालाई जिल्ला अदालत कास्कीबाट अपराधिक उपद्रव सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरि बस्नेतले जानकारी दिए । ती १० जना कास्की प्रहरी कार्यालय तोडफोड तथा आगजनीमा संलग्न हुनेहरु छन् ।
उनकाअनुसार पक्राउ परेका ८ जना धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा हुनेमा जिल्ला प्रहरी कार्यालय कास्कीमा गई प्रहरीको पोषाक दुरुपयोग गर्ने र हुलहुज्जत गर्ने रहेको डिएसपी बस्नेतले उल्लेख गरे । उनीहरुमध्ये ६ जना २ हजार र अन्य २ जना ३ हजार धरौटामा रिहा भएका हुन् ।
जेन–जी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका ७७३ कैदीबन्दीमध्ये हालसम्म ५२० जना पक्राउ परेका छन् । बालसुधार गृहबाट भागेका १५ जना, कास्की प्रहरीको थुनामा रहेका ५८ जना, वडा प्रहरी कार्यालय बगरको थुनामा रहेका ११ जना र वडा प्रहरी कार्यालय बैदामको थुनामा रहेका ७ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।