०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

सिमसिम पानी परेर चिस्सिएको काठमाडौँ उपत्यकामा स्कूटर कुदाउँदै नख्खु जेल पुगेँ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक १२, २०८२

काठमाडौं । मेरो नाम टिपाइएको छ, गेटबाट भित्र पुगेपछि सुरक्षाकर्मीलाई भनेँ। एउटा छुट्टै रजिस्टरमा रवि लामिछाने भेट्नेहरुको सूची हुँदो रहेछ।

बाबुको नाम, मोबाइल नम्बर, ठेगानामात्र होइन, नागरिकता नम्बरसमेत टिपियो। पर्स, साँचो भएभरका सब कुरा त्यहाँको लकरमा राखेर बडी सर्च गरेपछि एक पछि अर्को गर्दै तीन ठाउँ चिर्कटो देखाउँदै, बन्दीगृहको भेटघाट कक्षसम्म पुगियो। जहाँ रवि लामिछाने थिए। मेरो अपेक्षा विपरीत-उनी अत्यन्त शान्त थिए।

अनुहारमा थकान होइन, चमक थियो। त्यो चमक, जसले जेलको बन्द घेरामा पनि आत्मबलको उज्यालो बोक्दछ।

एक वर्ष भइसक्यो-उनी थुनामा छन्। तर उनको बोलीमा कुनै bitterness थिएन, बरु अहिले अलि अध्यात्मिक सुनिए। बौद्ध दर्शनमा आधारित शैलेन्द्र अधिकारीको अर्हत उपन्यास पढ्न सकाएको भन्दै त्यो गज्जबको किताब मलाई पनि सिफारिश गरे।

“यहाँ त ठीक छ, उता भैरहवामा त गोलघर नै थियो,” उनले मुस्कुराउँदै सम्झिए।

उनी त्यतिबेला आफ्नो जीवनकै सबैभन्दा बढी आलोचित अवस्थामा थिए, जब जेन–जी आन्दोलनको फाइदा उठाएर भागेको भनियो। खासमा त्यो दिन भएको के थियो ? मलाई उनको पक्षको कुरा उनकै मुखबाट सुन्न मन थियो।

उनले त्यसबारे भने, त्यो दिन म यतै थिएँ- उनले हामी बसेर कुरा गरेकै ठाउँ देखाउँदै भने, तपाईँ निस्कनु पर्‍यो, मान्छेहरु आइसके बाहिर भन्न थाले। मैले म यसरी निस्कन मिल्दैन भनेँ। तर फेरि ‘बाहिर थुप्रो मान्छे भेला भइसके छिटो अफिसमा जानु पर्‍यो’ भन्न थाले। मैले जुत्ता पनि लगाएको थिइनँ। पख्नु जुत्ता लगाएर आउँछु भनेर निस्केपछि उनीहरुले भनेको ठाउँमा लिएर गए।

मैले कागज नभई निस्कन्नँ भनेको थिएँ। कागज बन्दैछ भने। यता जेलमा मान्छे पसेर तोडफोड गर्न थालिसकेका थिए। भिडलाई सम्झाइदिनु पर्‍यो भनेकोले एउटा माइक खोजेर ल्याए तर आवाज सुनिँदैन थियो। बल्ल बल्ल बोलेँ। मैले त्यतिबेला ‘सार्वजनिक सम्पतिहरु तोडफोड नगरौँ, ती हाम्रै सम्पति हुन्’ भनेर भनेको भिडियोमै हेर्न सकिन्छ।

पछि कागज दियो भने। हतारमा जे दियो त्यही लिएर हिँडियो। त्यो अवस्थामा गाडीमा निस्कन गाह्रो थियो। यत्तिकै हिँडेको भए म चढेको गाडी पनि जलाइदिन सक्ने। त्यसैले छत भएको गाडीबाट देखिने गरी निस्केको हुँ। त्यतिबेला निकै प्रहार भयो, कुरा बुझाउन सकिएन। तर विस्तारै मान्छेले बुझ्न थालिसके- उनी आशावादी सुनिए।

जेलको चार घेराभित्र जीवन बिताइरहेका जसको अनुहारमा आशा झल्किन्छ, उसलाई बाँध्ने पर्खाल पृथ्वीमा हुन्न भन्ने मैले महसूस गरेँ।

यद्यपि त्यो दिन उनलाई बढी भावुक बनाइएकै हो भन्ने मलाई लाग्छ। त्यो दिन म निस्कन मिल्दैन भनेर सम्बोधन गरेर भिडलाई सम्झाएर उनी फेरि भित्र गएर बसेको भए उनको यति चर्को आलोचना हुँदैन थियो। तर उनको भनाई फेरि बेग्लै छ, त्यो दिन सुरक्षाका कारण त्यस्तो अवस्था नै थिएन।

राज्यले बनाएको चक्रव्यूहको बीचमा उभिएको त्यो मानिसले भन्यो, राज्य नै लागेपछि के हुँदो रहेछ भनेर देखियो। यिनीहरुले यस्तो चक्रव्यूहमा फँसाए कि कतै केही बाँकी राखेनन्। तर महाभारतको चक्रव्यूह र यसमा फरक छ। त्यो चक्रव्यूहमा अभिमन्यूका साथमा कोही थिएनन्, यहाँ जनताले सबै कुरा हेरेका छन्, बुझेका छन्। सहकारीको सदस्य र खातासमेत नभएको मान्छेलाई धरौटी राखेर निस्कन्छु भन्दा पनि नदिएर थुनेका छन्, तर सहकारीको सञ्चालक समितिको सदस्य र ऋण बकाइदा लिएको उनीहरुको पार्टीका नेताहरुलाई सफाइ दिएका छन्। यो सब त बुझ्नेले बुझेकै छन् नि। संविधान जारी भएपछिको सबैभन्दा बढी राजनीतिक प्रतिशोधको पात्र को भयो भन्ने त देखिएकै छ। त्यसैले यो चक्रव्यूह जनताकै साथमा तोडिनेमा उनी विश्वस्त छन्।

मलाई लाग्यो- चक्रव्यूह तोड्न बल चाहिँदैन, विश्वास चाहिन्छ।

आसन्न चुनावको चुनावको कुरा आउँदा उनले गहिरो स्वरमा भने, “मतपत्रमा सूर्य वा रुख देख्दा, संसद अगाडि गोलीले ढलेका ती निर्दोष बालबालिकाको अनुहार कसले बिर्सला?”

राजनीतिक प्रतिशोधका कारण थुनामा बसे पनि उनीहरु जस्तो जनताको अगाडि लज्जित भएर बस्नु नपरेको भन्दै गर्दा उनको अनुहारमा अर्कै चमक थियो।

लगभग एक घण्टा जतिको भेटमा उनी कतै पनि निराश सुनिएनन्। जेनजी विद्रोहपछि उनीहरुको मागलाई सही ढंगले व्यवस्थापन गर्नु पर्नेमा बरु चिन्तित सुनिए।

भेटपछि निस्कँदै गर्दा देखेँ- केही गाडी र मोटरसाइकलको जलेका भग्नावशेष त्यहाँ रहेछन्। नख्खुमा उनलाई ल्याएपछि त्यहाँ हुने विपश्यना ध्यान केन्द्रका व्यवस्थापकहरुसँग म पनि एकचोटी पुगेको थिएँ। त्यतिबेला जेलरसित बसेर कुरा गरेको कार्यालयसमेत तोडफोड भएको र आगो लगाइएको रहेछ।

बाहिर निस्कँदा आकाश अझै धमिलो थियो, सिमसिम पानीको थोपा स्कूटरको सिसामा टल्किँदै थियो। नख्खुको पर्खालभित्र देखेको त्यो अनुहार बारम्बार सम्झिँदै थिएँ-डर होइन, दृढता झल्किएको अनुहार। एक वर्षको बन्दी जीवनपछि पनि जसको आँखामा उज्यालो बाँकी छ, उसलाई इतिहासले हराउन सक्दैन।
रविले भनेका ती शब्द कानमा बजिरहे-“जनताले सबै कुरा हेरेका छन्, बुझेका छन्।”

यो पटक मतपत्रले के बोल्छ, हेरौँ।

(नोट : जेलमा फोटो खिच्न नपाइने भएकोले एआई जेनेरेटेड इमेज प्रयोग गरेको छु)
लेखक पत्रकार उमेश श्रेष्ठ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

काठमाडौं । प्रहरीको माइकबाट भन्दा TikTok स्टारको 15 सेकेन्डको रिलबाट युवाले बढी सिक्छन्। त्यही फर्मुला प्रयोग गरेर आजको भेटघाटले ट्राफिक सचेतनालाई “बोरिङ लेक्चरबाट “ट्रेन्डमा बदलिदियो। *किन प्रभावकारी हुन्छ त यो पहल?* 1. *भाषा उनीहरूको हुन्छ*:हेल्मेट लगाऊ” भन्दा “हेल्मेट नलगाई रिल्स बनाउँदा लास्ट सिन हुन सक्छ ब्रो” भन्दा गहिरो छाप पर्छ। 2. *पहुँच टाढासम्म*: प्रहरीको कार्यक्रम […]

error: Content is protected !!