दाङ । भालुवाङ दाङको देउखुरी अन्तरगत राप्ती गाउँपालिका १ भालुवाङस्थित होटल पौवाको सभाहलमा बुधबारदेखि शिक्षा समुहका लागि सिकाई आपूरण तथा द्रुत सिकाई सम्बन्धि २ दिवसीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । युनिसेफ र नेपाल शिक्षा समुहको सहयोग तथा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम शुरु भएको हो ।
जस अन्तरगत कोभिड–१९ महामारी तथा अन्य विविध कारणले शिक्षण सिकाइमा भएको क्षतिको परिपूर्ति गर्न सामाजिक विकास मन्त्रालयले शिक्षा समूहलाई प्रशिक्षण दिन थालिएको आयोजकले बताएको छ । विभिन्न कारणले क्षति भएको शिक्षण सिकाइलाई परिपूर्ति गर्न प्रशिक्षण कार्यक्रमले सार्थकता पाउने बताइएको छ ।
सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले सिकाइमा नवीनता र व्यवहारिकता जोड्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्ने सहभागीहरुले द्रुत सिकाइका नयाँ प्रविधि र सिकाइ आपूरणको प्रभावकारी रणनीति अपनाउँदा विद्यार्थीको शैक्षिक उपलब्धि उल्लेखनीय रूपमा वृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।
प्रशिक्षणको पहिलो दिन सहभागीहरुलाई तालिम पूर्व परिक्षा, सिकाई क्षतिको परिचय, विश्व परिवेश र नेपालको सन्दर्भमा सिकाई क्षतिको अवस्था, यथार्थ योजना, अवधारणा र परिचय, कार्यान्वयन प्रक्रिया, नीतिगत पक्ष र नेपालको अभ्यास, सहजीकरण विधि र प्रक्रिया, कार्यान्वयनका लागि क्षमता विकास, उपचारात्मक शिक्षण र द्रुत सिकाई लगायतको विषयमा प्रशिक्षण दिइएको थियो ।
सोही कार्यक्रममा शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक नारायण प्रसाद पोख्रेल, सामाजिक विकास मन्त्रालयका प्राविधिक सहायक शिवलाल भण्डारी सहितका वक्ताहरुले विषयमा प्रशिक्षण दिएका थिए ।
लुम्बिनी प्रदेशका शिक्षा समूह अन्तरगत शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका शिक्षा अधिकृत, शिक्षक, अपाङग, पत्रकार र गैर सरकारी महासंघका प्रमुख तथा प्रतिनिधि, रेडक्रस तथा विभिन्न विकास साझेदार संस्थाका प्रतिनिधि गरि झण्डै दुई दर्जन बढी जनाको कार्यक्रममा सहभागिता रहेको छ ।
बिहिवारसम्म चल्ने प्रशिक्षण कार्यक्रमको सहजीकरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव प्रकाश खरेल र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालकी ओमकला खनालले गरेका थिए । भने सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत बेगम केसीले कार्यक्रमकाे सहजीकरण गरेका थिए ।