१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

ट्राफिक प्रहरीले यात्रुवाहक जीपहरूको छत (हुट) हटाउने अभियान,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख ०३, २०८३

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो ।

“जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण दुर्घटनाको जोखिम बढ्ने हुँदा हटाउन थालेका हौँ”, उनले भने ।

पहाडी क्षेत्रका अधिकांश सडक एकतर्फी र कच्ची रहेको अवस्थामा सवारीको छतमा समेत यात्रु राखेर हिँडाउने प्रवृत्ति जोखिमपूर्ण भएकाले यसलाई नियन्त्रण गर्न आवश्यक रहेको उनले उल्लेख गरे। अभियानअन्तर्गत पछिल्लो दुई सातामा करिब तीन दर्जन यात्रुवाहक जीपबाट हुट हटाइएको छ । दलदले, चोरमारा र अरुणखोला क्षेत्रबाट पहाडी क्षेत्रमा चल्ने जीपहरूले छतमा यात्रु बोक्ने गरेको पाइएको छ । केही यातायात व्यवसायीहरूले पनि ट्राफिक प्रहरीको अभियानलाई साथ दिँदै स्वेच्छाले हुट हटाउन थालेका छन् ।

क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारीको माथिल्लो भागमा अतिरिक्त सिट राख्ने तथा ओभरलोड गर्ने प्रवृत्ति बढ्दै गएपछि ट्राफिक प्रहरीले निगरानी कडा बनाएको जनाएको छ । विशेषगरी दुर्गम तथा पहाडी सडकमा यस्ता गतिविधिले दुर्घटनाको जोखिम उच्च हुने भएकाले नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको हो ।

ट्राफिक प्रहरीको सक्रियतामा जीपहरूको हुट हटाउने काम भइरहेको र पुनः हुट राखेमा कानुनअनुसार कारबाही गरिने ट्राफिक प्रमुख बर्तौलाले बताए । बढी यात्रु बोक्दा सवारीको सन्तुलन बिग्रने, ब्रेक प्रणालीमा समस्या आउने तथा दुर्घटनाको सम्भावना बढ्ने भएकाले अभियानलाई निरन्तरता दिइने उनले जानकारी दिए ।

विगतमा पहाडी क्षेत्रमा सवारी दुर्घटनाबाट ठूलो मानवीय क्षति हुने गरेको सन्दर्भमा समेत हुट हटाउने तथा अत्यधिक यात्रु बोक्ने प्रवृत्ति निरुत्साहित गर्न अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

साथै, सवारी चालक र यात्रुले पनि जोखिमपूर्ण यात्रा नगर्न सचेत हुनुपर्ने उनले बताए । पहाडी क्षेत्रमा चल्ने यात्रुवाहक जीपहरूको निगरानीका लागि कुमसोतसहित पहाडी क्षेत्र प्रवेश गर्ने मुख्य सडकहरूमा निगरानी बढाइएको ट्राफिक प्रमुख बर्तौलाले बताए ।

ट्राफिक प्रहरीको निगरानी, अभियान र नियम उल्लंघन हुँदा गरिने कारबाही चालक तथा यात्रुको सुरक्षाकै लागि भएकाले यसमा सहयोग गर्न सबै सरोकारवालाई कार्यालय प्रमुख बर्तौलाले अनुरोध गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पठन संस्कृतिको विकास र पुस्तकालय अभियानलाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्नै कृति उपलब्ध शान्तिनगर । साहित्यकार तथा पत्रकार सबिन प्रियासनले शान्तिनगर सामुदायिक पुस्तकालयका लागि आफूले लेखेका नौ थान पुस्तक सहयोग गर्नुभएको छ। समाजमा पठन संस्कृतिको विकास गर्ने, नयाँ पुस्तालाई साहित्यसँग जोड्ने र पुस्तकालयमार्फत ज्ञानको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको पुस्तकालयलाई प्रियासनले आफ्ना कृति […]

  काठमाडौं । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हरूलाई प्रधान कार्यालय नक्सालमा बोलाएको छ। प्रहरी संगठनको उच्चस्तरीय समन्वय तथा नीतिगत छलफलका लागि आज दिउँसो बस्ने प्रहरी समन्वय समिति (PCC) को बैठकमा सहभागी हुन उनीहरूलाई बोलाइएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सबै प्रदेशका डीआईजीहरूलाई आज मध्याह्न १२ बजेदेखि साढे १२ बजेभित्र प्रधान कार्यालयमा […]

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]