१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
×

दाङको कोइलाबासमा हावाबाट बिजुली निकाल्ने तयारी

Logo
प्रकाशित सोमबार, फाल्गुण २६, २०७६

दाङमा स्वच्छ ऊर्जाका रूपमा मानिएको हावाबाट बिजुली निकाल्ने तयारी भइरहेको छ । दाङको गढवा गाउँपालिका–८ कोइलाबास र बङलाचुली गाउँपालिका–२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि परीक्षण भइरहेको छ । गत वर्षदेखि यी दुई स्थानमा टावर स्थापना गरी सम्भाव्यता अध्ययन भइरहेको छ । स्याटेलाइटबाट हेर्दा ती दुई स्थानमा हावाबाट बिजुली निकाल्न सकिने सम्भावना भएकाले काम अगाडि बढाइएको इञ्जिनीयर गौरव दुलालले जानकारी दिनुभयो । “कुन ठाउँमा कति हावा लाग्छ भनेर नाप्ने यन्त्र नेपालमा त छैन, तर स्याटेलाइटको माध्यमबाट सम्भावित क्षेत्रमा काम अगाडि बढाइरहेका छौँ”, दुलालले भन्नुभयो । ती दुवै स्थानमा टावर निर्माण गर्नुका साथै पङ्खा पनि जडान गरिएको छ । “असी मिटर अग्लो टावर र त्यसमा जडान गरिएका पङ्खाले दुई वर्षसम्म हावाको गति मापन गर्ने र बिजुली निकाल्न सक्ने क्षमताको हावा लाग्ने भए विद्युत् उत्पादन शुरु गर्नेछौँ”, इञ्जिनीयर दुलालले भन्नुभयो । गत वर्ष स्थापना भएका टावरमा भएको मापनअनुसार अहिलेसम्म राम्रो नतिजा आइरहेको उहाँले बताउनुभयो । एक वर्षको मात्रै परीक्षणले नहुने भएकाले अर्को एक वर्ष पनि परीक्षण मात्रै हुने छ । “दुई वर्षसम्म यसको तथ्याङ्क निकाल्नु पर्छ, दुई वर्षको नतिजाअनुसार मात्र विद्युत उत्पादन शुरु हुन्छ” उहाँले भन्नुभयो । इञ्जिनीयर दुलालका अनुसार विद्युत् उत्पादनका लागि हावाको गति कम्तीमा छ मिटर प्रतिसेकेण्ड हुनुपर्छ । अहिले हावाको गति मापन गर्ने काम भइरहेको छ । हावाको गति मापन गर्नका लागि टावरको २० देखि ८० मिटरको दूरीमा एमीमोमिटर जडान गरिनुका साथै, दिशा नाप्ने, तापक्रम नाप्ने यन्त्रसमेत जडान गरिएको छ । यी सबै मापन भइसकेपछि मात्रै बिजुली उत्पादन शुरु हुने उहाँले बताउनुभयो । पहिलो चरणमा रु ६० लाख बराबरको काम भएको उहाँको भनाइ छ । अहिले देशका २१ ठाउँमा हावाको मापन गर्ने काम भइरहेको छ । यसअघि सात ठाउँमा हावाबाट बिजुली उत्पादन भइसकेको इञ्जिनीयर दुलालको भनाइ छ । उहाँका अनुसार नवलपरासी, सिन्धुली, मकवानपुर, जुम्ला, सुर्खेत, अछाम र पाँचथरमा हावाबाट बिजुली उत्पादन भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । हर्ड इन्टरनेसनलको पराग सेचन परियोजनाअन्तर्गत घोराही उपमहानगरपालिका–१४ स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरुवा रोपिएको छ। परियोजनाले आगामी तीन वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरुवा उपलब्ध गराउने भएको छ। परियोजनाअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरुवा वृक्षारोपण […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलिले गोप्य सूचनाको आधारमा नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर र वडा नं. २ सुर्खेत रोडस्थित ३ वटा स्पा सेन्टरमा छापा मारेर भारतीय नागरिक गुडिया खान, दुर्गा थारु तर्कराज देवकोटालाई पक्राउ गरेको छ। उनीहरूले विभिन्न उमेरका नाबालिकालाई गैरकानुनी रूपमा स्पामा काममा लगाएको आरोप छ। बाँके प्रहरीले पीडित बालबालिकाको उद्धार गरेको […]

बाँके । सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलद्वारा बाँके बर्दिया स्थित सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूको औपचारिक निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षणका क्रममा भएका मुख्य कामहरू: बाँके र बर्दियाका विभिन्न बीओपी, गुल्म र बाहिनी मुख्यालयको स्थलगत निरीक्षण गर्दै सुरक्षा व्यवस्था, ब्यारेक, अभिलेख र हातहतियारको अवस्थाबारे जानकारी लिनुभयो। आवश्यक […]