२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

सीमा नाकामा अलपत्र नेपालीले भारतीय क्वारेन्टाइनमा जान अस्वीकार

Logo
प्रकाशित शुक्रबार, चैत्र २१, २०७६

नेपालगन्ज/ नेपालगन्जको सीमा नाकामा अलपत्र नेपालीले भारतीय क्वारेन्टाइनमा जान अस्वीकार गरेका छन्। उनीहरूलाई बुधबार रातिदेखि उत्तर प्रदेशको बहराइच नानपारास्थित क्वारेन्टाइनमा पठाउन खोजिएको हो। धेरै जना हुनेलाई सम्बन्धित जिल्लामा गाडी बोलाएर पठाउने हाम्रो तयारी थियो। नेपाल सरकारको नीतिअनुसार जताबाट आएका हुन् उतै फर्काउने निर्देशनले गर्दा पठाउन सकेनौं’, बिहीबार बिहान सीमा नाका जमुनाहा पुगेकी नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले अन्नपूर्णसँग भनिन्, ‘सीमामा अलपत्र परेकाहरू भने नेपाली भूमिमा आइसक्यौं, किन फेरि भारत जाने भनेर अडान लिइरहेका छन्।’
नेपालगन्जमा निर्माणाधीन नेपाल–भारत एकीकृत भन्सार जाँच चौकीछेउमै खुला चउरमा रहेका उनीहरूलाई बुधबार साँझ सम्बन्धित जिल्लामा पठाउने भन्दै जमुनाहामा ल्याइएको थियो। प्रधानमन्त्री कार्यालयको ठाडो आदेश भन्दै नाकामा रहेका नेपालीलाई झनै अलपत्र पार्ने काम भएको छ। दसगजा क्षेत्रमा बस्ने टेन्टको व्यवस्था भइरहेका बेला सरकारले त्यहाँ बस्न पनि अनुमति दिएको छैन।
जमुनाहा पुगेकी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’ले सरकारले घर फर्किन नदिने भएपछि भारतीय पक्षलाई क्वारेन्टाइनमा राख्न आग्रह गरेको सुनाइन्। नेपालबाट प्रदेश सांसद नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरीका बाँके प्रमुख एसपी वीरबहादुर ओली, सशस्त्र प्रहरी बलका एसपी दीपक अधिकारी र भारतीय पक्षबाट बहराइच जिल्लाका डीएम शम्भुकुमार, एसपी विपिनकुमारबीच बुधबार राति छलफल भएको थियो। सीमामा रहेका नेपालीलाई आधा–आधा व्यवस्थापन गर्ने नीतिअनुरूप आधालाई भारतीय पक्ष नानपारास्थित क्वारेन्टाइनमा लैजान तयार भएको थियो।
‘हामीलाई गोली हान बरु भारतमा जान्नौं। क्वारेन्टाइनका लागि पैसाको अभाव हुन्छ भने हामी आफ्नै खर्चमा खाना खान तयार छौं’, अलपत्र नेपालीको भनाइ उद्धृत गर्दै सांसद नमुनाले भनिन्, ‘नेपाली भूमिमै क्वारेन्टाइन बनाएर राख्छौं भन्दा पनि नेपाल सरकारले जहाँबाट आएका हुन् उतै फर्काउने नीतिले हामीले व्यवस्थापन गर्न सकेनौं। गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग पनि अनुरोध गर्यौं। सबैको जवाफ एउटै छ– नेपाल प्रवेश गर्न दिनुहुँदैन।’
नाकामा अलपत्र यात्रीको संख्या बढ्दो छ। बुधबारसम्म १ सय ६३ जना मात्र रहेकामा बिहीबार बिहानसम्म १ सय ८१ पुगेको छ। नेपालले दसगजामा बस्न नदिने र उनीहरू भारत जान नचाहेपछि झन बिचल्ली भएको छ।
सीमा नाकामा रोकिएका नेपाली र भारतीय नागरिक एकअर्काको देशमा क्वारेन्टाइनमा छन्। कोरोनाको जोखिम बढे पनि सीमाबाट आउजाउ नरोकिएपछि दुवै देशले जो जहाँ छन् त्यहीं व्यवस्थापन गर्न थालेका हुन्।
भारतीय सीमा नाका सुनौलीमा तीन दिनसम्म रहेका नेपाली नौतुनहको क्वारेन्टाइनमा छन्। भारत फर्किंदै गरेका भारतीय बेलहियाको क्वारेन्टाइनमा छन्। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दुवै देशका सरकारले सीमा नाकाबाट आवतजावतमा रोक लगाएका कारण उनीहरू सीमामा रोकिएका थिए। सीमामा अलपत्र परे पनि संघीय सरकारले प्रवेश अनुमतिको संकेत नदिएपछि दुवै देशका स्थानीय अधिकारीले समझदारी गरेर क्वारेन्टाइन व्यवस्थापन गरेका हुन्। अन्नपूर्ण पोष्टमाबाट सभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।खनालले आत्महत्या गरेको हुन सक्ने दाङ प्रहरीको अनुमान छ ।

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

error: Content is protected !!