२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

टिकटकमा भिडियो पोष्ट गर्न युवापुस्ताको ज्यानको बञ्जी

Logo
प्रकाशित बुधबार, पुष २२, २०७७

 

(ABC Sanchar)
पोखरा । अक्सर मान्छे उचाइसँग डराउने गर्छन् तर त्यही उचाइबाट हामफालेर डरलाई जित्ने साहसमा अहिलेका युवापुस्ता उत्साहित बनिरहेका छन्। युवा पुस्तामा आकर्षण बढेसँगै एक्लै आँट र साहस हुनेले सजिलै उचाइबाट हामफालेर बञ्जीको मज्जा लिने गरेका छन्। एक्लै डराउनेहरु एकअर्को साथीको साहाराबाट बञ्जी गर्नेको संख्या पनि उत्तिकै छ।

पोखरा २५ स्थित हाइग्राउन्ड एडभेन्चर्समा बञ्जीको मज्जा लिएपछि भक्तपुर बालकोटकी २५ वर्षीय नविना दवाडीले भनिन्, ‘निकै पहिलेदेखि बञ्जी गर्ने रहर थियो, तर एक्लै गर्न सकेको थिइन । उहाँ (श्रीमान् देखाउँदै) को साथले आट आयो, डरलाई जितेको अनुभव गरेँ ।’ दवाडीले लामो समयको सपना श्रीमानको साथमा पूरा गर्न पाएकोमा खुशी लागेको बताइन् । सँगै मुस्कुराइरहेका सन्दिप सुवेदीले पनि श्रीमतीको सपना पूरा गर्न पाएकोमा खुशी लागेको बताए।

‘हामी नवविवाहित जोडी हौँ, उनको सपना पूरा गर्न साथमा लिएर बञ्जी गरेँ, डरभित्रको आनन्दमा हामी रमायौँ,’ सुवेदीले भने, ‘एडभेन्चर्स भनेकै डरसँग सम्बन्धित हुन्छ जति डर जति चुनौती उति मज्जाहुन्छ हामीले त्यो अनुभव हासिल गर्‍यौं।’

काठमाडौँ बालुवाटारका २७ वर्षीय सफिन श्रेष्ठले पनि २२ वर्षीय श्रीमती सनिसा श्रेष्ठको साथमा बञ्जीको अनुभव निकै स्मरणीय रहेको बताए । उनले एक वर्षअघि विवाह गरेपछिसँगै बञ्जी गर्ने रहरलाई बल्ल पूरा गर्न पाएको बताए।

‘हामीले निकै पहिलादेखिसँगै बञ्जी गर्ने सोच बनाएको तर कोभिड-१९ का कारणले रोकिएका थियौँ, पोखरामा ‘कपल’ बञ्जी हुन्छ भन्ने थाहा पाएपछि यहाँ आएर त्यो रहर पूरा गर्‍यौं,’ बञ्जीको अनुभव सुनाउँदै सनिसाले भने, ‘ओहो निकै डरलाग्दो रहेछ, एक्लै भएको भए त सक्दिन थिएँ होला, उहाँको साथले आत्मविश्वास बढ्यो, डरलाई जितेँ।’

बञ्जी सञ्चालक कम्पनीका पोखरास्थित शाखा प्रबन्धक दिनेश महर्जनले पछिल्लो समय बञ्जी गर्ने जोडी (टेन्डम) संख्या बढिरहेको बताए । ‘हामीले सुरुमा सन् २०१० मा पोखरामा साहसिक खेल जीप लाइन सुरु गरेका हौँ, त्यसपछि सन् २०१४ बाट बञ्जी सञ्चालनमा ल्यायौँ। सुरुका पाँच वर्ष अक्टुबरको समयमा फुलमुन बञ्जी (रातिमा गर्ने) गर्‍यौं भने सन् २०१९ देखि जोडी बञ्जी अर्थात् टेन्डम सुरु गरेका हौँ, अहिले जोडीहरुको आर्कषण बढ्दै गएको छ।’ उनले जोडीमा एक अर्को साथीसँग जम्प गर्ने सकिने बताए। ‘एक अर्को साथी जोसँग पनि जम्प गर्न सकिन्छ दाजुबहिनी, श्रीमान् श्रीमती, दिदीबहिनी, दाजुभाइ, दुई साथी सबैले गर्न सक्छन्,’ उनले भने।

उनले भने, ‘जोडी भन्नेवित्तिकै गर्ल फ्रेण्ड ब्याइ फ्रेण्ड मात्र भनेर बुझ्ने गरेको तर बञ्जीमा त्यस्तो हुँदैन जो कोही साथीसँग पनि बञ्जी गर्न सकिन्छ।’ कोभिड-१९ का कारण लामो समय बन्द रहेको बञ्जी पुनः सञ्चालनमा आएसँगै आन्तरिक पर्यटक आउने थालेको उनको भनाइ छ । कोभिड-१९ अघि ४५ प्रतिशत नेपाली र ६५ प्रतिशत बञ्जी गर्थे भने अहिले सबै आन्तरिक पर्यटक मात्र छन्।

पोखरा सुन्दर सहर विदेशी पर्यटकको आर्कषक गन्तव्य भए पनि साहसिक खेल त्यति नभएकाले गोल्छा अर्गनाइजेशनले सन् २०१० मा जीपलाइन निर्माण गरी सन् २०१२ मा सुरु गरेको थियो भने त्यसको दुई वर्षपछि जीपलाइनको ‘डाउन स्टेशन’मा उक्त कम्पनीले बञ्जी टावर निर्माण गरेको हो। बञ्जीमा नेपालको पहिलो टावर बञ्जी एशियामा पहिलो व्यावसायिक टेन्डम भएको प्रबन्धक महर्जनको दाबी छ।

‘अहिलेसम्मको अवस्थालाई हेर्दा टेण्डममा व्यावसायिक बञ्जी गराउने हामी नै हौँ,’ महर्जनले भने। महर्जनका अनुसार गोल्छा अर्गनाइजेशनका शरद गोल्छा र अविनव चुरिवालको लगानी रहेको यस कम्पनीले आगामी दिनमा एडभेन्चर्समा थप नयाँ अवधारणा समेत बनाइरहेको र सहज वातावरण भएपछि सार्वजनिक गर्ने तयारी रहेको छ।

पोखरा-१८, सराङकोट जीप लाइनको अपस्टेशन तीन रोपनी र पोखरा( २५, हेम्जाको डाउन स्टेशनमा ४ रोपनी जग्गा कम्पनीले खरिद गरी बञ्जी र जीप लाइन सञ्चालनमा ल्याएको हो । बञ्जीबाट ८५ मिटरसम्म जम्प गर्न सकिने गरी १२५ मिटरसम्मको बन्जीको उचाइ रहेको छ। उक्त बञ्जी जम्पमा करिब ८ करोडको लगानी भएको कम्पनीले जनाएको छ।

टेण्डम बञ्जीको अवधारणाबारे महर्जनले भने, ‘सुरुमा अलि रिस्क हुन्छ कि भन्ने सोच्यौँ, दुई जनाको जम्पमा बाउन्स गर्दा ठोकिन्छ कि भन्ने लागेको थियो तर लामो समय परीक्षण गरेपछि सुरक्षित हुने ग्यारेन्टी भो अनि सञ्चालनमा ल्यायौँ ।’ उनले दुई जना जम्प गर्दा गफ गर्नसमेत मिल्ने भएकाले एक्लै डराउनेका लागि जोडी बञ्जी उपयुक्त हुने बताए । उनका अनुसार बञ्जी युरोपका ल्याटभियाको फ्रेन्चाइज हो । इयु स्टान्डर्टको सामग्रीको प्रयोग गरिएकाले सुरक्षित र भरपर्दो हुने उनको भनाइ छ । ल्याटभियाकाको जम्प मास्टर नेपाल प्रत्येक ६र६ महिनामा दुईरदुईजना आएर तीन वर्ष तालिम प्रदान गरी सर्टिफाइड गरेका दक्षजनशत्तीले अहिले बञ्जी गराउने गरेका छन् ।

पोखराको सुन्दरतामा लोभिने र साहसिक खेलमा रुची राख्नेका लागि बञ्जी र जीपलाइन बरदान सावित हुने गरेको उनी बताउँछन् । हाइग्राउन्ड एड्भेन्चर नेपाल प्रालिले कोरोनाको कहरसँगै चैत ११ देखि बन्द भएको कम्पनी असोज १९ देखि पूर्ण सञ्चालन गरेको थियो । कम्पनीका अनुसार असोज १९ देखि पुस १६ सम्म एक हजार २३० जनाले सहासिक खेल बञ्जी जम्पको मज्जा लिएका छन् भने करिब ७० प्रतिशत टेण्डम (जोडी) छन् । त्यसमा पनि ९० प्रतिशत नवविवाहित जोडीहरु छन् ।

साहसिक खेल प्रवर्द्धनका अभियानकर्मी विष्णुकान्त घिमिरे पछिल्लोसमय धेरै युवापुस्ताले बञ्जी जम्पको भिडियो टिकटकमा पोष्ट गर्न थालेपछि पनि यसको ‘क्रेज’ झन् बढ्दै गएको सुनाउँछन् । ‘अहिले साहसिक खेलमा रुचि राख्नेहरुसँगै सामाजिक सञ्जाल टिकटकलगायत एक अर्काको अनुभवले बञ्जी गर्नेलाई लोभ्याइरहेको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ देशभरका रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाको अस्तित्व संकटमा पर्न सक्ने तथा हजारौं पत्रकार, कर्मचारी र श्रमिकको रोजगारी जोखिममा पर्ने उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि सञ्चार क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा नआएकोप्रति पनि महासंघले चिन्ता व्यक्त गरेको छ । महासंघले सरकारी विज्ञापन वितरण प्रणाली पारदर्शी, समानुपातिक […]

दाङ । मनसुनपूर्व तयारी बैठकले लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनेगरी योजनाको मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको छ । मन्त्रालय अन्तर्गतको विपद् महाशाखा प्रमुखको संयोजकत्वमा विपद् प्रतिकार्य योजना २०८३ तयार पार्न कार्यदल गठन गर्ने निर्णय भएको हो । उक्त कार्यदलले योजनाको मस्यौदा तयार पार्नेछ । बैठकमा मन्त्रालयका सचिव विनोद लामिछानेका अनुसार : प्रि–मनसून अवधिमा […]

काठमाडौं । धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन् । मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ । मासुको मात्रा र खाने विधिबारे केही टिप्स […]

error: Content is protected !!