(सर्मिला बोगटी)
धनगढी । कैलालीमा झण्डै आधा किलो अवैध सुनसहित तीन जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय मालाखेतीको सयुक्त टोलीले ४४९.७७ ग्राम सुनसहित तीन जना पक्राउ गरेको हो।
पक्राउ पर्नेमा शैलेश्वरी सुनचाँदी पसल अत्तरियाका सञ्चालक समिर सिजापती, सोही सुनचाँदी पसलमा कार्यरत सुनसरीका राजु बिक र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का भवानी घिमिरे रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुको साथबाट ४९ हजार बढी नगद र ५ थान मोबाइल पनि बरामद गरिएको छ।
अत्तरियास्थित सडकखण्डमा काठमाडौबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ८ख ८३४९ नम्बरको महाकाली यातायातको बसलाई चेकजाँच गर्दा उक्त बसका कण्डक्टर घिमिरेको साथबाट ४९.९५ ग्राम अवैध सुनको बाला र नगद २६ हजार बरामद गरिएको हो। यस्तै बसमै सवार राजु बिकको साथबाट सुनको बाला र सिक्री गरी जम्मा ३४९.८७ ग्राम अवैध सुन र नगद ६ हजार ९ सय रुपैया पनि बरामद गरिएकोजिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए।
उनीहरुसँग सोधपुछ गर्ने क्रममा सुन अत्तरियाका व्यवसायी समिर सिजापतीको खुलेपछि सिजापतीलाई पनि पक्राउ गरिएको हो। सिजापतीको खानतलासी गर्दा उनको साथबाट ४९.९५ ग्राम अवैध सुनको बाला र १६ हजार तीन सय नगद बरामद भएको प्रहरीले जनाएको छ। भवानी घिमिरे र समिर सिजापतीको साथमा कतार दोहाको बिल रहेको तर किन्ने व्यक्तिको विवरण फरक रहेको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।