१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

भारतबाट आएको २० बथान हात्ती नफर्किँदा नागरिकहरुमा त्रास

Logo
प्रकाशित आइतबार, भाद्र १३, २०७८

(ABC-Sanchar)
काठमाडौं । भारतबाट नेपाल पसेका २० जङ्गली हात्ती एक महिनादेखि नेपालको जङ्गलमा डुलिरहेका छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते ती हात्ती बाहुनडाँगी गौँडा हुँदै नेपाल पसेका थिए । भित्रिएका हात्ती लामो अवधिसम्म नेपालमै बसिरहँदा स्थानीयवासीमा त्रास बढेको मानव हात्ती द्वन्द्व न्यूनीकरण अभियानकर्मी शङ्कर लुइँटेलले बताए ।

 

भारतको सुकुना वन क्षेत्रबाट मेची नदी तरेर हात्तीको बथान आहारको खोजीमा बर्सेनि नेपाल पस्ने गर्थ्यो । नेपालले बाहुन डाँगीको तिरिङदेखि काँकडभिट्टासम्म १८ किलोमिटर सीमा क्षेत्रमा विद्युतीय तारबार निर्माण गरेको सात वर्षपछि हात्तीको बथान नेपाल पसेको यो पहिलो पटक हो ।

हात्तीको प्रवेशविन्दु बाहुनडाँगीमा दुई दशकदेखि क्रियाशील उहाँका अनुसार २०७१ सालयता हात्ती नेपाल पसेका थिएनन् । यसअघि नेपाल पसेका हात्ती बढीमा चार दिनमै भारततिरै फर्किन्थे । “यसपाली एक महिना भइसक्यो हात्तीको बथान भारततिर फर्किएको छैन,” अभियानकर्मी लुइँटेल भन्छन्, “किन फर्किएनन् भन्ने नयाँ खोजको विषय भएको छ । कतै यिनीहरु नेपालतिरै बस्न लागेका त होइनन् भन्ने प्रश्न पनि उब्जिएको छ ।”

उनका अनुसार २० मध्ये १८ एउटै झुण्डमा डुल्ने गरेका र दुई दाह्रे हात्ती भने अलग्गै छन् । बथानबाट लखेटिएका हात्तीलाई “मालजोरिया” भन्ने गरिन्छ । ती दुई हात्ती बथानको छेउछाउ नै डुल्ने गरेका छन् । हाल झापामा १३ रैथाने हात्ती रहेको डिभिजन वन कार्यालयले जनाएको छ । ती हात्ती पनि कुनै बेला यसरी नै भारतबाट पसेर यतै बसेको हुनसक्ने लुइँटेलको अनुमान छ । हालै भित्रिएका हात्तीको बथान उत्तरी झापाको मेचीनगर, अर्जुनधारा र कनकाइको वन क्षेत्रमा डुलिरहेका छन् । ती वन क्षेत्रमा हात्तीले रुचाउने जङ्गली अठिया केरा र बाँसको तामाजस्ता आहारा प्रशस्त मात्रामा छ ।

नयाँ बथानले अहिलेसम्म मानवीय क्षति नगरे पनि कनकाइको सुकेडाँगीमा एउटा घरपालुवा जनावर मरेको थियो । जङ्गल आसपास मानव वस्तीमा हात्ती डुल्ने गर्दा स्थानीयवासीमा त्रास बढेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । […]

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

error: Content is protected !!