(सर्मिला बोगटी)
धनगढी । प्रहरीमा भर्ना गरी दिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बझाङको मस्टा गाउँपालिका २ बस्ने २५ वर्षीय मनोज कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार हालै प्रहरी जवान पदको सम्पूर्ण परीक्षाहरू समाप्त भई अन्तिम नतिजा प्रकाशनको क्रममा रहेको अवस्थामा एक जनालाई प्रहरी बनाई दिन्छु भनी ठगी गरी रहेको भन्ने सूचनाको आधारमा सिंहलाई पक्राउ गरिएको हो ।
उनलाई बिहीबार सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिप्रका कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका ३ चौराहाबाट प्रहरी बनाई दिने भनी पैसा माग गरी लिएको ६० हजार सहित पक्राउ गरेको हो । उनले पीडितलाई फोन गरी धम्काइ पैसा तथा चेक नदिए प्रहरीको छनौटबाट फेल गरी दिने भन्ने धम्की र प्रलोभन दिई माग्ने गरेको समेत प्रहरीले जनाएको छ । उनलाई पीडितको जाहेरीका आधारमा ठगी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।