१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

जङ्गल सफारीमा प्रयोग हुने हात्ती किन धमाधम बेचिँदै छ ?

Logo
प्रकाशित बुधबार, भाद्र ३०, २०७८

(राकेश श्रेष्ठ)
चितवन । कोरोना महामारीले पर्यटन सुस्ताएसँगै जङ्गल सफारीमा प्रयोग हुने हात्ती भारत बेच्ने क्रम बढेको छ । झन्डै तीन वर्षमा २२ हात्ती घटेका छन् । यो वर्ष पनि हात्ती बिक्री रोकिएको छैन ।

गैरसरकारी संस्था जनहित संरक्षण मञ्च (प्रो–पब्लिक) ले हात्ती खरिद–बिक्री तथा निकासी रोक्न माग गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई पत्र नै पठाएको छ ।

गत बिहीबार राति २ बजेतिर चितवन सौराहाबाट एउटा हात्ती भारतका लागि लगिएको पत्रमा उल्लेख छ । प्रो–पब्लिकका कार्यक्रम संयोजक सञ्जय अधिकारी र कानुनी सहायक अर्वण चौधरीले लेखेको पत्रमा ४५ लाख भारतीय रुपैयाँमा हात्ती बिक्री भएको जनाइएको छ । उनीहरूका अनुसार हात्ती बिक्रीका लागि एक महिनाअघि नै बैना गरिएको थियो । ‘हात्ती ४५ लाख भारतीय रुपैयाँमा जालिम नामक भारतीय व्यक्तिलाई बिक्री गरेको खबर हामीले प्राप्त गरेका छौँ । शुक्रबार बिहान २ बजे जालिमका भाइ आलमले उक्त हात्ती सौराहाबाट भारततर्फ लगिरहेको खबर हामीलाई छ,’ पत्रमा उल्लेख छ । उक्त हात्ती दुई–चार दिन वीरगन्जमा राखेर भारत छिराउने योजना रहेको पत्रमा भनिएको छ ।

उनीहरूका अनुसार हात्ती ५० वर्षको काजलकली हो । उद्धवकुमार कोइराला प्रबन्ध निर्देशक रहेको सौराहाको होटल अर्थ लाइटले प्रयोग गर्ने उक्त हात्ती मधुकर रेग्मीको रहेको पत्रमा जनाइएको छ । रेग्मीले आफूले कुनै हात्ती नबेचेको प्रतिक्रिया दिए । भाडामा ल्याएको हात्ती नै साहुलाई फिर्ता पठाइएको उनको भनाइ छ । ‘तीन वर्षअघि पुसमा मैले मासिक ५० हजार रुपैयाँ भाडा तिर्ने गरेर एउटा हात्ती ल्याएको थिएँ,’ उनले भने, ‘दुई वर्षयता पर्यटक आउनै ठप्प भयो, सफारी नचलेपछि हात्ती मालिकलाई भाडा मिनाहा नगर्ने भए लैजान भनेको थिएँ, त्यही हात्ती फिर्ता भएको हो ।’

सौराहामा हात्ती सफारी चलाउनेले युनाइटेड हात्ती सञ्चालक सहकारी संस्था खोलेका छन् । सहकारीमा तीन वर्षअघि ऋषि तिवारी अध्यक्ष चुनिए । उनी अध्यक्ष भएर आउँदा संस्थामा ५५ वटा हात्ती थिए, अहिले ३३ वटा छन् । ‘सफारी रोकिएपछि हात्ती घटे । यहाँ धेरै हात्ती भाडामा ल्याउने र प्रयोग गर्ने चलन छ । पर्यटक नआएपछि भाडाका हात्ती फिर्ता भए भनेर हामीलाई भनिएको छ,’ अध्यक्ष तिवारीले भने ।

कोरोनाका कारण परेको घाटा कम गर्न हात्ती भएका पर्यटन व्यवसायीले होटलभन्दा हात्ती बेच्न थालेको उनीहरूको भनाइ छ । सौराहाको पहिचान सफारी पनि भएकाले हात्ती धमाधम बिक्री भए पर्यटक आउँदा के गर्ने भन्ने अवस्था सिर्जना भएको छ । ‘हात्ती विस्थापित हुनु हुँदैन भन्ने हाम्रो मत छ । अहिले हात्ती बेचे भोलि किन्न सकिन्न, हात्ती नै नभए सौराहाको महत्त्व रहँदैन भनेका छौँ,’ सहकारीका अध्यक्ष तिवारीले भने ।

निकुञ्जसँग समन्वय गरेर सामुदायिक वनमा हात्तीका लागि घाँसको व्यवस्था गरिएको छ उनले बताए । हात्ती बिक्री राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको हुँदा सरकारले यसलाई रोक्नुपर्ने प्रो–पब्लिकले माग गरेको छ । नेपालले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) पालना र कार्यान्वयनमा ल्याउन २०७३ सालमा ऐन जारी गरेको छ । राष्ट्रिय निकुञ्ज ऐनले पनि हात्तीको गैर कानुनी खरिद–बिक्रीलाई दण्डनीय अपराध मानेको प्रो–पब्लिकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

error: Content is protected !!