(ABC-Sanchar)
बैतडी । जिल्लाको देहीमाडौँ र पाटनमा मदिरा बेचबिखन तथा ओसारपोसारमा पूर्ण रुपमा रोक लगाइएको छ। बडादसैँको महाष्टमी र महानवमीका दिन लाग्ने जात्रा तथा मेलालाई मध्यनजर गर्दै मदिरा बेचबिखन र ओसारपोसार बन्द गरिएको हो। 
देहीमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमी र पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा महानवमीका दिन पशु बलिसहित जात्रा लाग्ने गर्दछ। निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन देहिमाडौँ बजार क्षेत्रमा घटस्थापनादेखि नै मदिरा बेचबिखन र ओसारपोसारमा रोक लगाइएको छ। वडाध्यक्ष रनबहादुर बोहराका अनुसार मदिरा बेचबिखन तथा सेवन गरेको पाइएमा वडा कार्यालयले जरिवाना गरिने छ। 