
(ABC-Sanchar)
जनकपुर । प्रदेश २ को राजधानी जनकपुरधाममा ई रिक्साको अत्याधिक चापका कारण पार्किङको समस्या बढ्दै गएको छ । जनकपुरधाम उपमहानगरपालिकाले ई रिक्सा व्यवस्थापन गर्न ध्यान नदिँदा नगर क्षेत्र नै अस्तव्यस्त बनेको हो । नगरमा दर्ता नगरिएका रिक्सा पनि सञ्चालन भइरहेको स्थानीयहरु बताउँछन् । नगरमा अत्याधिक ई रिक्सा गुड्ने गरेको कारण कतिपय ठाउँमा घण्टौंसम्म जाम लाग्ने गरेको छ ।
विशेष गरेर रामचन्द्र चोक र बस पार्क क्षेत्रमा सर्वसाधारणहरुलाई निकै समस्या हुने गरेको छ । नगर क्षेत्रमा गुड्ने गरेको ई–रिक्साको कुनै भाडा समेत तोकिएको छैन । जसकारण मनपरी भाडा लिने गरेको स्थानीयहरुको गुनासो छ । जनकपुरधाम उपमहानगरपालिकामा दर्ता भए पनि रिक्साका लागि रुट परमिट भने यातायात व्यवस्था कार्यालयले दिने गरेको छ । तर रुट परमिटको आधारमा कुनै पनि ई–रिक्सा सञ्चालनमा नआएको स्थानीयहरुको गुनासो छ ।