
(महेन्द्र सिंह)
बाँके । नेपाल आयल नियमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा बाँकेसहित देशका विभिन्न जिल्लामा विरोध प्रदर्शन गरिएको छ । खासगरी विभिन्न विद्यार्थी संगठनहरुले देशका विभिन्न जिल्लामा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध प्रदर्शन गरेका थिए ।
बाँकेको नेपालगन्जमा समेत विरोध प्रदर्शन गरिएको थियो । प्रमुख विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियू बाँकेले नेपालगन्जमा बिहीबार साँझ विरोध प्रदर्शन गरेको हो । उनीहरुले नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं लगायतका नारा लेखेको प्लेकार्ड बोकेका स्थानीय विपी चोकमा विरोध प्रदर्शन गरेका थिए ।
देशका कतीपय जिल्लामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला पनि जलाइएको छ । बिहीबार नै नेपालगन्जको विपी चोकमा नेकपा बाँकेले समेत पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको थियो ।
मूल्यवृद्धिको विरोधमा नेकपाले बिहीबार नै नेपाल बन्दसहित विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ । नेपाल आयल निगमले बुधबार राति खाना पकाउने ग्यासमा ७५ रुपैयाँ र डिजेल तथा पेट्रोलमा ३-३ रुपैयाँ मूल्य बढाएको थियो ।
मूल्यवृद्धिको विरोधमा सत्तारुढ गठबन्धनमै रहेका दलका विद्यार्थी संगठनहरुले पनि आन्दोलन घोषणा गरिसकेका छन् ।