१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

काठमाडौं शहर तुवाँलोले धुम्मियो वर्षा भए मात्र प्रदूषण हट्ने

Logo
प्रकाशित बिहिबार, मंसिर ०९, २०७८

.
(ABC-Sanchar)
काठमाडौँ । केही दिनयता हावाको गति कमजोर भएकाले काठमाडौंसहित देशका धेरै भागको वायुमण्डलमा प्रदूषणको मात्रा बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगले हावाको वेग रोकिँदा वायुमण्डलमा प्रदूषण थिग्रिएर बसेको बताए । ‘यो हट्न कि पश्चिमी वायुको गति बढ्नुपर्छ कि वर्षा हुनुपर्छ,’ उनले भने, ‘पश्चिमतिरबाट कमजोर प्रणाली भित्रिँदै छ । त्यसले हल्का वर्षा गरायो र हावाको गति बढायो भने तैरिएर बसेको प्रदूषण हट्छ र आकाश सफा हुन सक्छ ।’

काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) केही दिनयता बढ्दै गएको छ । मंगलबार साँझ एक्यूआई प्रतिघण्टा ३०८ रहेको विराटनगरमा बुधबार साँझ २७१ मा झरेको थियो । मंगलबार साँझ २१६ रहेको सिमराको एक्यूआई बुधबार साँझ २०९ रहेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एक्यूआई २०१ नाघे त्यो क्षेत्रलाई अस्वस्थकर मानेको छ । उसले एक्यूआई ३५ लाई स्वस्थ, २०१–३०० लाई अस्वस्थकर र ३०१ भन्दा माथिलाई घातक मानेको छ । केही दिनदेखि काठमाडौंसहित तराईका विभिन्न स्थानमा भिजिबिलिटीसमेत घट्दो छ । मौसमविद् प्रधानांगका अनुसार मंगलबार ५ किलोमिटर रहेको काठमाडौंको भिजिबिलिटी बुधबार बेलुकी साढे ३ किमिमा झरेको थियो ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्मा चिसोको मात्रा बढेसँगै हावाको वेग घट्ने भएकाले वायुमण्डलमा प्रदूषण तैरिनु सामान्य प्रक्रिया भएको बताउँछन् । ‘हावा पनि नचल्ने र वर्षा पनि नभएका बेला प्रदूषण जहाँको त्यहीँ तैरिएर बसेको हुन्छ,’ उनले भने, ‘एक–दुई दिनयता काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भएको त्यही हो ।’ गत वर्ष पनि वायुमण्डलमा अत्यधिक प्रदूषण बढेर आँखा पोल्ने र दिउँसै अँध्यारो भएपछि सरकारले विद्यालय नै बन्द गरेको थियो ।

वातावरण विभागका विज्ञ शंकरप्रसाद पौडेलले यो वर्ष भने वायुको गुणस्तर सूचकांक गत वर्षजस्तो नभएको बताए । ‘विराटनगर र सिमरामा बाहेक अन्यत्र प्रदूषणको मात्रा अस्वस्थ छैन,’ उनले भने । तर, सीमा जोडिएको दक्षिणी भागबाट प्रदूषण भित्रिरहेकाले नेपाली आकाशमा त्यसको असर देखिन थालेको उनले बताए । ‘यो हट्नका लागि पश्चिमतिरबाट द्रुत गतिको वायु चल्नुपर्छ,’ उनले भने ।स्विट्जरल्यान्डमा मुख्यालय रहेको एयरक्वालिटी टेक्नोलोजी कम्पनी ‘आईक्यू एयर’ ले काठमाडौंलाई मंगलबारदेखि नै विश्वका ९३ सहरमध्ये एक्यूआई बढी भएको १० सहरभित्र राखेको थियो । पहिलो नम्बरमा बंगलादेशको ढाका थियो । गत वर्ष पनि काठमाडौं पहिलो सूचीमा थियो । विभागका अनुसार बुधबार बेलुकी वायुको गुणस्तर सूचकांक (प्रतिघण्टाका हिसाबले) पोखरामा १७०, धनकुटामा १२०, धनगढीमा १६४, रत्नपार्कमा १६१, भक्तपुरमा ३२, जनकपुर १०४, हेटौंडामा १२७, शंखपार्कमा ११६ र रारामा १० पुगेको थियो । एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने पीएम १० र २.५ माइक्रोग्रामभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । त्यस्तै, काठमाडौंमा हावामा हानिकारक कणको मात्रा पनि अत्यधिक हुने गरेको छ । सरकारले पीएम १० को मात्रा १ सय २० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ । २.५ को ४० माइक्रोग्राम प्रतिघनमिटर मापदण्डलाई वार्षिक हिसाबले हेर्दा ४९ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । जाडो महिनामा मंसिर, पुस र माघमा हानिकारक कण २.५ को मात्रा उच्चस्तरमा पुग्ने गरेको छ । काठमाडौंमा सरकारले तोकेको पीएम १० को मापदण्डभन्दा पाँच गुणासम्म बढी पाइएको छ ।

विराटनगरमा बुधबार पीएम १० को मात्रा २७३.२ माइक्रोग्राम प्रतिघनमिटर र पीएम २.५ को मात्रा २२९.४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ । यस्तै, सिमरामा पीएम १० को मात्रा १८७.५ र पीएम २.५ को मात्रा १७२.६ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ । माइक्रोग्रामभन्दा मसिना कणलाई पीएम २.५ भनिन्छ । ‘स्टेट अफ ग्लोबल एयर–२०२०’ का अनुसार नेपालमा प्रदूषणले निम्त्याउने रोगका कारण बर्सेनि ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको छ ।

डब्लूएचओका अनुसार सन् २०१८ मा नेपालमा प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको थियो । प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग (सीओपीडी), दम, निमोनिया, मस्तिष्कघात (स्ट्रोक), कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ । प्रदूषणकै कारण विश्वमा वार्षिक ७० लाख जनाको मृत्यु हुने गरेको छ । ट्राफिक प्रहरीका अनुसार काठमाडौं उपत्यकामा यातायातका साधन वायु प्रदूषणका मुख्य स्रोत हुन् । उपत्यकामा साना–ठूला गरी १२ लाख सवारीसाधन गुड्छन् । फोहोर र कृषिजन्य अवशेष बाल्दाको धूवाँ, इँटाभट्टा, घरभित्र दाउरा र गुइँठाबाट निस्किने धूवाँ पनि वायु प्रदूषणका स्रोत हुन् ।

सरकारले २०७६ सालमा स्वीकृत गरेको ‘काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजना’ मा एक्यूआई ३ सय नाघे विपद्को रूप लिने भनिएको छ । कार्ययोजनामा उपत्यकाको वायु प्रदूषण नियमन गर्न आकर्षित धेरै कार्यक्रम प्रस्ताव गरिए पनि सरकारले ल्याउन सकेको छैन । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!