१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

नेपाल प्रहरीमा एआईजीको दरबन्दी थपिँदा यी हुन प्रमुख दाबेदारहरु

Logo
प्रकाशित आइतबार, माघ ०२, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयको आग्रहमा गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थपको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर अड्किएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले दरबन्दी थपको प्रस्ताव पेश गरेका हुन्।

२३ पुसमा प्रधान कार्यालयले एआईजीको तीनवटा दरबन्दी थप गर्ने प्रस्तावसहितको संगठन सुपरिवेक्षण तथा व्यवस्थापन (ओएन्डएम) प्रतिवेदन गृह मन्त्रालयमा पठाएको थियो। गृहले सो प्रस्ताव स्वीकृतिका लागि गत शुक्रबारको मन्त्रिपरिषद् बैठकमा लगेको हो।

सरकारले एआईजीको तीनवटा दरबन्दी थप गर्न सकिने संकेत दिएपछि प्रहरी प्रधान कार्यालयले सोहीअनुसार प्रस्ताव गृह मन्त्रालयमा पेश गरेको स्रोतको भनाइ छ। ‘सो प्रस्ताव अब बस्ने बैठकमा स्वीकृत हुनसक्छ,’ प्रधान कार्यालयका एक अधिकारीले भने।

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७३ सालमा एआईजीका दरबन्दी ३ बाट थपेर १५ बनाएका थिए। तर, २०७४ मा केपी शर्मा ओली प्रधानमन्त्री भएपछि एआईजीका दरबन्दी घटाएर फेरी ३ वटामै झारे। तर, पछि आफू अनुकुल २ वटा दरबन्दी थप गरी ओलीले नै एआईजीको दरबन्दी ५ बनाएका थिए।

प्रधानमन्त्री देउवाले अहिले फेरि तीनवटा थपेर ८ वटा बनाउन लागेका हुन्। प्रहरी संगठनमा एआईजीको दरबन्दी कम भएको भन्दै सरकारले समेत थप गर्नुपर्ने आवश्यकता औंल्याएको हो।

अब मन्त्रिपरिषद्ले दरबन्दी थपको प्रस्ताव पारित गरेपछि बहालवाला प्रहरी नायब महानिरीक्षक (डिआईजी) मध्येबाट तीन जनालाई एआईजीमा बढुवा गर्न सकिनेछ। एआईजीको दरबन्दी थपिने भएसँगै दुई ब्याचका एक दर्जन डिआईजीहरुबीच चर्को प्रतिस्पर्धा हुनेछ।

डिआईजीहरु धीरजप्रताप सिंह, रवीन्द्र धानुक र उत्तमराज सुवेदी एआईजीको मुख्य दाबेदार हुन्। प्रहरी संगठनमा तीनै जना काबिल प्रहरी अफिसरको रुपमा चिनिन्छन्। सिंह प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबीं का कार्यरत छन् भने धानुक प्रधान कार्यालय कार्य विभाग र सुवेदी महानगरीय आयुक्त कार्यालय, रानीपोखरीमा कार्यरत छन्।

त्यसअघि उनीहरु तीनैजनाले प्रदेशको समेत सफल कमाण्ड गरिसकेका छन्। सिंहले २ नम्बर प्रदेशको कमाण्ड गरे भने धानुक र सुवेदीले क्रमशः लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सफल कमाण्ड गरे। विवादरहित तरिकाले प्रदेशको कमाण्ड सम्हालेका उनीहरुको कार्यकालमा थुप्रै घटनाको सफल अनुसन्धान समेत भयो।

आर्थिक चलखेलमार्फत एआईजी बढुवामा कार्यक्षमतामा कमजोर मानिएकाहरुले पनि चर्को लविङ गरिरहेका कारण कार्यक्षमतामा अगाडि रहेका सिंह, धानुक र सुवेदी बढुवामा छुट्न नहुने प्रहरी अधिकारीहरु नै बताउँछन्। त्यसैले पनि उनीहरु तीनजनाको बढुवा हुने प्रबल सम्भावना रहेको छ।

त्यस्तै उनीहरुका ब्याची बसन्त लामा, अरुण विसी, दिवेश लोहनी पनि प्रतिस्पर्धामा छन्। उनीहरुले पनि एआईजी बढुवाको लागि चर्को लबिङ गरिरहेको स्रोतबो दाबी छ। लामाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त प्रेमकुमार राईमार्फत लबिङ गरिरहेका छन्।उनीहरुकै ब्याची विश्वराज पोखरेल र सहकुल थापा एआईजी भइसकेका छन्। एआईजीको दरबन्दी थप भएसँगै भावी आईजीमा समेत चलखेल हुने देखिएको छ। हालका प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीपछि एआईजीद्वय पोखरेल र थापा दुईजना मात्र संगठन प्रमुखको दाबेदार थिए।

सरकारले एआईजीमध्ये जसलाई चाहन्छ, उसैलाई आईजीपी बनाउन सक्छ। त्यसैले वर्तमान देउवा नेतृत्वको सरकारले पोखरेल र थापालाई पाखा लगाएर थपिएको एआईजी दरबन्दीमा बढुवा भएकाहरु मध्येबाट प्रहरी नेतृत्व चयन गर्नसक्ने स्रोतको दाबी छ।

अहिले प्रधानमन्त्री र गृहमन्त्री दुवैजना एकै पार्टीका भएकाले पनि प्रधानमन्त्रीले चाहेकै व्यक्ति आईजी बन्ने लगभग निश्चित छ।

आईजी क्षेत्रीको ब्याचीहरु समेत लबिङमा
आईजी क्षेत्रीका ब्याचीहरु समेत एआईजी बन्नको लागि शक्तिकेन्द्र धाइरहेका छन्। जबकी उनीहरु आउँदो १९ वैशाखमा आईजी क्षेत्रीसँगै अवकाश पाउँदैछन्। त्यसकारण पनि आईजीको ब्याचका डिआईजीहरूलाई बढुवा गर्न नहुने दबाब गृहदेखि बालुवाटारसम्म परेको छ।

आईजी क्षेत्रीका ब्याचबाट घनश्याम अर्याल, बसन्त पन्त र ईश्वरबाबु कार्कीले लबिङ गरिरहेका छन्। कार्यक्षमतामा असक्षम मानिएका कार्की गृहमन्त्री खाँणकी पत्नी मन्जु खाँणलाई प्रभावमा पारेर एआईजी बढुवा हुन खोजिरहेका छन् भने पन्त कांग्रेसकै नेता रमेश लेखकमार्फत लविङ गरिरहेका छन्।

त्यस्तै अर्यालले पनि कांग्रेस र माओवादी केन्द्रका नेताहरुलाई प्रभावमा पारेर एआईजी बन्न लागिपरेका छन्।

प्रहरी प्रधान कार्यालयले एआईजी तहमा नयाँ दरबन्दी थपका लागि सिफारिस गरेको यो तेस्रो पटक हो। प्रधान कार्र्यलयले यसअघि भदौ र कात्तिकमा पनि दरबन्दी थपको प्रस्ताव गृहमा पठाएको थियो। onlinenews7बाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । बुटवलबाट बर्दघट तर्फ जाँदै गरेको चौधरी ट्रवल्सको लु 1 ख ८९४७ नम्बरको बसले सोहि दिसामा औधोगिक क्षेत्र भित्र कार्यालय जाँदै गरेको लु २१ प २१५७ नम्बरको मोटर्साईकल लाई ठक्कर दिदा मोटर साइकलमा सवार २ जना घाईते भएका छन । बस लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् । उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी […]

काठमाडौं । १. म सरकारकाे नेतृत्व गरिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे ‘सदस्य’ मात्र हुँ। पार्टीकाे सांगठनिक संरचनामा कतै पनि निर्णयाधिकारी हाेइन, सुझावकर्ता मात्र हुँ। २. अधिकांश मन्त्रीसँग मेराे सामान्य चिनजान बाहेक तपाईंहरूले साेचेकाे जस्ताे ‘घनिष्ठ’ सम्पर्क र सम्बन्ध छैन। त्यसैले तपाईंहरूकाे विविध चासाे र चिन्ता म श्रवण मात्र गर्न सक्छु। सम्बाेधन गर्न नसक्ने व्यहाेरा श्रवणकाे मात्रै […]

error: Content is protected !!