२५ आषाढ २०८२, बुधबार
09-07-2025 , Wed
×

मानव तस्करीमा केकी,आर्यनसहित १४ जनालाई नर्वे पुर्‍याउन पर्यटन बोर्डमा नक्कली कागजात किर्ते पेस

Logo
प्रकाशित बिहिबार, भाद्र ०९, २०७९


(ABC-Sanchar)
काठमाडौं । फिल्म सुटिङको बहानामा १४ जना व्यक्तिलाई नर्वे पुर्‍याउन भारतस्थित नर्वेजियन दूतावासमा किर्ते कागजात पेस गरिएको खुलेको छ । नेपाल पर्यटन बोर्डका तर्फबाट पेस गरिएको किर्ते सिफारिसमा भिसा माग गरिएका १४ जनाको सूचीमा दुई चर्चित कलाकार अभिनेत्री केकी अधिकारी र अभिनेता हरिश (आर्यन) सिग्देलको नामसमेत छ ।

दूतावासमा ‘ब्लु बर्ड एचडी’ नामक चलचित्र निर्माण कम्पनीमार्फत ‘तिम्रो नजर’ फिल्मको सुटिङका लागि भनेर भिसा माग गरिएको छ । जसमा केकी, आर्यन, म्युजिक भिडियो निर्देशक दीपकप्रसाद आचार्य र निर्माता रोशन पराजुलीबाहेक अन्य नाम अपरिचित छन् । पराजुलीकै कम्पनीमार्फत फिल्म निर्माणका लागि भिसा अप्लाई भएको देखिन्छ । उनले यसअघि ‘बोतलको बिर्को’ बोलको म्युजिक भिडियो निर्माण गरेका थिए । जसमा भारतीय चर्चित गायक मिका सिंहको स्वर छ । भिडियोमा आर्यन सिग्देलदेखि पल शाह र दुर्गेश थापासम्मको अभिनय छ ।

केही चल्तीका कलाकारको नाम देखाएर अन्यलाई नर्वे पुर्‍याउने नियतजस्तो देखिन्छ,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले भने, ‘हाम्रो लेटरहेड, छाप र हस्ताक्षर किर्ते गरेर जुन किसिमले भिसा प्राप्त गर्न खोजिएको छ, यसबाट हामी झस्किएका छौँ । यो हाम्रो पत्र होइन भनेर दूतावासलाई तत्काल जवाफ फर्काएका छौँ । त्यस्तै, यसअघि पनि यस्तो दुरुपयोग भएको हुन सक्छ भनेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई गहिरिएर अनुसन्धान गर्न पत्राचार गरेका छौँ ।’

दूतावासको मेलपछि खुल्यो तथ्य
गत बुधबार साँझतिर भारतस्थित नर्वेजियन दूतावासबाट पर्यटन बोर्डमा एउटा मेल आयो । मेलमा भनिएको थियो, ‘नेपालबाट फिल्म सुटिङका लागि भनेर १४ जनाको भिसा माग गरिएको छ । भिसा दिनका लागि पर्यटन बोर्डले सिफारिस गरेको पत्र पनि आएको छ । यो फेक हो कि रियल ?’

पर्यटन बोर्डकै लेटरहेडमा रहेको उक्त सिफारिसपत्रमा प्रमुख कार्यकारी अधिकृत रेग्मीकै हस्ताक्षर थियो । दूतावासबाट प्रमाणीकरणका लागि यस्तो मेल विरलै आउँथ्यो । मेलले बोर्डमा तरंग ल्यायो । कारण, यस्तो सिफारिस कसैले गरेकै थिएन ।

‘त्यो मेरो हस्ताक्षर नै होइन, हामीले सिफारिस गरेको पत्र नै होइन,’ रेग्मीले भने, ‘पर्यटन बोर्डको किर्ते कागजात बनाएर मानव तस्करी गर्न खोजिएको देखियो । यद्यपि, यसमा पर्यटन बोर्डकै कोही कर्मचारीको हात छ भने त्यसमा पनि अनुसन्धान हुनुपर्छ ।’

पर्यटन बोर्डकै सहप्रवक्ता मणि लामिछानेका अनुसार भिसा अप्लाईका लागि प्रयोग गरिएको बोर्डको लेटरहेड पनि दुई वर्ष पुरानो हो । ‘पत्रको चलानी नम्बर पनि हाम्रोसँग मिल्दैन,’ उनले भने, ‘पत्रमा प्रयोग गरिएको अंग्रेजी भाषा पनि हास्यास्पद छ । सम्बोधन पनि मिल्दैन । बोर्डअन्तर्गतको बाह्य पर्यटन विभागबाट गरिएको सिफारिस भनिएको छ, जब कि हामीकहाँ त्यस्तो विभाग नै छैन ।’
के भनेर मागिएको छ भिसा ?
भिसा आवेदनमा केकीलाई फिल्मको प्रमुख महिला कलाकार, आर्यनलाई प्रमुख पुरुष कलाकारका रूपमा भिसा मागिएको छ । त्यस्तै, निर्देशकका रूपमा दीपकप्रसाद आचार्यको नाम छ । उनी म्युजिक भिडियो निर्देशन र कलाकारितामा सक्रिय छन् । निर्माताका रूपमा रोशन पराजुलीको नाम छ । उनले यसअघि ‘बोतलको बिर्को’ बोलको म्युजिक भिडियो निर्माण गरेका थिए ।

यसबाहेक अन्य नाम चिनिएका छैनन् । विभिन्न प्राविधिक पद खडा गरेर उनीहरूलाई नर्वे पुर्‍याउन खोजेको देखिन्छ । फिल्मको एडमिन/फाइनान्स हेडका रूपमा विक्रम बस्नेत, हेड मेकअप आर्टिस्टका रूपमा रीता सापकोटा खनाल, कोरियोग्राफरका रूपमा माजोहित अन्सारी, ड्रेस डिजाइनर दीपेन भुजेल, क्यामेरापर्सनका रूपमा सरोज गुरुङ, सहनिर्माताका रूपमा भक्तबहादुर रानामगर, सहायक निर्देशकका रूपमा टेसबहादुर रन्टिजा, सिनेमाटोग्राफरका रूपमा राजु गुरुङ, प्रोडक्सन कन्ट्रोलरका रूपमा लक्ष्मण आचार्य र प्रमुख लाइटम्यानका रूपमा मीनराज गुरुङको नाम छ । फिल्म प्राविधिकहरूको छाता संगठन चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले यी नामहरूबारे अनभिज्ञता जनाए । ‘पछिल्लो समय सुटिङको बहाना गरेर नक्कली प्राविधिक बनाउँदै विदेश पुर्‍याउने प्रचलन बढेको छ,’ उनले भने, ‘यसमा पनि यस्तै उद्देश्य हुन सक्छ । यो प्रवृत्तिले राम्रा प्राविधिक पनि मारमा परेका छन् । फिल्म सुटिङका लागि उनीहरूले भिसा नपाएको अवस्था छ ।’

भिसा माग गर्ने १४ जनाको सूचीमा रहेकी अभिनेत्री केकी अधिकारीले ‘तिम्रो नजर’ नाम गरिएको चलचित्रसँग आफ्नो कुनै पनि सम्झौता नभएको बताएकी छिन् । निर्देशकका रूपमा भिसा अप्लाई गरिएका दीपकप्रसाद आचार्यले भने आफूले करिब एक वर्षअघि निर्माता भनिएका रोशन पराजुलीलाई चिनेको, तर किर्ते प्रकरणबारे केही जानकारी नभएको बताए । ‘यो के हो म आफैँ पनि अनुसन्धान गरिरहेको छु,’ उनले भने, ‘मेरो पुरानो साथी दिलीप न्यौपानेमार्फत मैले यिनलाई चिनेको हुँ । मिका सिंहको स्वर रहेको म्युजिक भिडियो बनाएको याद छ ।
त्यसपछि ‘सारंगीको धुनले’ गीतको रिमेकका लागि मलाई निर्देशनको अफर गरेका थिए । पछि यो प्रोजेक्ट ढिला हुने भयो भनेर अर्को दुईवटा म्युजिक भिडियो निर्देशनका लागि अफर गरे । आइल्यान्डमा सुटिङ गर्ने भनेपछि हावा लागेर वास्ता गरेको थिइनँ । हालै म अस्ट्रेलिया जाने अघिल्लो दिन ‘आर्यन र केकीलाई लिएर आइसल्यान्डमा सुटिङ गर्ने कन्फर्म भयो, तपाईंले मलाई पासपोर्ट कपी दिनुपर्‍यो’ भनेर मागेका थिए । त्यसपछि साथीमार्फत नै कपी दिएको थिएँ । त्यतिवेला केकी, आर्यन र छायाकार अर्जुन तिवारी मात्रै जाने कुरा थियो, तर यहाँ त १४ जनाको नाम रहेछ । ती कसैलाई चिन्दिनँ । अहिले बुझ्दा यहाँ त अर्कै धन्दाको उद्देश्य रहेको भन्ने देखियो । निर्देशक आचार्यका अनुसार दूतावासका लागि भिसा निवेदनमा लेखिएजस्तो फिल्म निर्माणका लागि निर्माता पराजुलीसँग कुनै कुरा भएको थिएन । ‘फिल्म बनाउने त कुरै थिएन, नाम नै पहिलोपल्ट सुन्दै छु,उनले भने ।
नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । कोहलपुर नेपाल प्रहरी प्रधान कार्यालय,मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको चलानी नम्बर ८०६१ र ८०६३ पत्रादेशानुसार प्रहरी सहायक हवलदारबाट प्रहरी हवल्दार पदमा र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका निम्न प्रहरी कर्मचारीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पुस्कर राज पन्तद्वारा दर्ज्यानी चिन्हद्वारा […]

जुम्ला । कल्पना गर्नुहोस्, तपाईं नाम्चे बजारको एउटा चिया पसलमा चिया पिउदै हुनुहुन्छ, अनि तपाईंको आँखामाथि उभिएको छ, गौरवशाली सगरमाथाको हिमाली मुकुट। अब त्यो हिमाली मुकुट बिस्तारै हराउँदै गएको कल्पना गर्नुहोस्। नेपालका हिमालयहरू, जुन हाम्रो पानी,वन्यजन्तु, र जीविकोपार्जनका मूल स्रोत हुन्, त्यो अहिले जलवायु परिवर्तनका कारण गहिरो संकटमा परेका छन्। हिमनदीहरू पग्लिँदै छन्, मौसम अनियमित […]

  दाङ । घोराही नेपाल प्रहरी प्रधान कार्यालय मानबश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं ८०६१ र ८०६३ पत्रादेशानुसार जनपद समुह तर्फका प्रहरी सहायक हवल्दारबाट प्रहरी हवल्दार र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा सोही समुह तर्फ बढुवा नियुक्त भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका मातहत समेतमा कार्यरत निम्न प्रहरी कर्मचारीहरु लाई दाङ जिल्ला ट्राफिक […]

error: Content is protected !!