(राजन थारु) धनगढी । प्रदेशका विभिन्न जिल्लाहरुमा गरी संक्रमितको संख्या एक सय नाघेको छ। खासगरी भारतबाट फर्कनेहरुमा कोरोना संक्रमण देखिन थालेपछि सीमा नाका क्षेत्रमा कोरोना परीक्षण गर्ने काम तीव्र पारिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा चैत १० गतेसम्म कोरोना संक्रमितको संख्या शून्य थियो। दुई साता नपुग्दै संक्रमितको संख्या एक सय पुगेको छ।
नयाँ वर्ष र बिसु पर्व मनाउन छिमेकी भारतबाट धमाधम घर फर्किन थालेपछि दिन प्रतिदिन कोभिड संक्रमण बढन थालेको हो । पछिल्ला दुई सातायता कोभिड संक्रमण बढ्न थालेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशीले बताए । सुदूरपश्चिम प्रदेशका आधिकारीक पाँच वटा नाकाबाट स्वदेश फर्किरहेकाहरुमा कोभिड देखिन थालेको उनले बताए । भारतमा जसरी संक्रमण दर बढीरहेको छ त्यहाँबाट नेपाल फर्कनेहरूमा पनि संक्रमण देखा पर्न थालेको उनको भनाइ छ । खासगरी कैलाली र कञ्चनपुरमा बढी संक्रमित देखिएको तथ्याङ् रहेको छ।