ABC (क्राईमबिट) काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको परिसरमा सिन्धुलीका युवराज पौडेल ‘सफल’लाई एउटा समूहले दुर्व्यवहार गरेको छ । रास्वपाका सभापति रवि लामिछानेका समर्थकहरूले उनलाई दुर्व्यवहार गरेका हुन् । युवराजले लामिछानेको नागरिकता विवादमा सर्वोच्चमा मुद्दा दायर गरेका थिए । आइतबार सफलले आफूलाई गाली गरेको भन्दै एक युवती प्रहरीकहाँ गएकी थिइन् । उनको आरोप थियो– ‘अन्तर्वार्ता लिन बोलाउँदा सफलले मलाई गाली गरे ।’ युट्युब च्यानल सञ्चालन गर्ने ती युवतीलाई प्रहरीले गाली बेइज्जती मुद्दा प्रहरीमा दर्ता नहुने भन्दै अदालत जान आग्रह गरेको थियो ।त्यहिबेला सफल पठाओ चढेर टेकु परिसरमा पुगे । प्रहरी कार्यालयमा पुग्नासाथ रविका समर्थकले उनलाई दुर्व्यवहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । सफल एसएसपी दानबहादुर सरलाई भेट्छु भन्दै थिए’ जिल्ला प्रहरी परिसरका एक जना अधिकृतले भने–‘त्यसबेला सबैले घेरेर उनलाई दुर्व्यवहार गरेका हुन् ।’ प्रहरी अधिकृतहरूले आक्रमण प्रयास भएपछि सफललाई त्यहाँबाट पठाएका थिए ।