ABC (क्राईमबिट) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले आज घोराहीमा पत्रकार सम्मेलन गरेर उनलाई सार्बजनिक गरेको हो ।
घोराही उपमहानगरपालिका-१२ रतनपुरमा खाल्डोमा गाडिएको अवस्थामा भेटिएकी ४० वर्षीया शारदा केसीको हत्या आरोपमा उनका ४१ वर्षीय श्रीमान मेघराज पक्राउ परेका थिए ।
उनलाई शुक्रबार राति घोराही उपमहानगर-३ गोग्लीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी दिए।
वैशाख १ गते राति साढे ९ बजे काठको चिरपटले हानेर शारदाको हत्या गरेको मेघराजले प्रहरीसमक्ष बताएका छन्। हत्यापछि डेढ घण्टा लगाएर शव खाल्डोमा पुरेको बताएका हुन्।
गत स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भएपछि विजय जुलुसका लागि घरबाट हिँडेका मेघराज गत पुसमा मात्रै घर फर्किएका थिए।
त्यसबीचमा शारदाले बेपत्ता भएका श्रीमान् खोजिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दिएकी थिइन्। प्रहरीले पनि उनको खोजी गर्दा फेला पारेको थिएन।
घरपरिवारले मेघराजको सम्बन्ध परस्त्रीसँग रहेको आशंका गरेको थियो। सोही विषयमा मेघराज र शारदाबीच पटकपटक झगडा भएकाले हत्या उनैले गरेको हुनसक्ने प्रहरीको आशंका थियो।
शारदाको माइती पक्षले पनि गत बुधबार मेघराज नै हत्यामा संलग्न भएको व्यहोरासहितको किटानी जाहेरी दिएका छन्।