
(ABC-Sanchar)
काठमाडौं । इजरायलीमाथि हमासले आक्रमण गरेपछि जारी लडाइँमा मृत्यु हुनेको सङ्ख्या लगातार बढ्दै गएको छ । हालसम्म दुवैतर्फको जनधनको क्षतिको बारेमा कुनै यकिन तथ्याङ्क बाहिर आएको छैन । तर इजरायली सेनाले गाजा पट्टी वरपर हमास सम्बद्ध पन्ध्र सय जनाको शव फेला परेको दाबी गरेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अझै पनि धेरै प्यालेस्टिनी बन्दुकधारी इजरायलमा रहेको बताएका छन् । इजरायलले गाजामा २० भन्दा बढी लक्ष्यमा आक्रमण गरेको छ । गाजातर्फबाट पनि इजरायलमा रकेट आक्रमण जारी छ ।
इजरायली सेनाका प्रवक्ता रिचर्ड हेचले गाजा पट्टीको वरपर इजरायलमा हमास आतङ्ककारीहरूको करिब १५ सय शव फेला परेको दावी गरेका छन् ।
शनिवार हमासले इजरायलमा हजारौँ रकेटले अचानक आक्रमण गरेको थियो । यसपछि हमासका लडाकुले सीमा तोडेर इजरायलमा प्रवेश गर्दै स्थानीयहरूमाथि गोली चलाउन सुरु गरेका थिए । उनीहरूले सयौँ इजरायलीहरूको अपहरण समेत गरेका छन् । जवाफमा, इजरायलले गाजा पट्टीमा हमासका लक्ष्यहरूमा ठूलो हवाई आक्रमण गरिरहेको छ । एजेन्सी