ABC (क्राईमबिट)
दाङ । भालुवाङ नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोला बिगत आठ दिनदेखि प्रहरी हिरासतमा बस्दै आएका छन्। उनी अझै तीन दिनभन्दा बढी हिरासतमा बस्नुपर्ने देखिएको छ। प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर घटनाको अनुसन्धान गर्ने भएपनि नेता भएकाले उनि अव केही दिन मात्रै हिरासत बस्ने छन् ।
दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले दसैं बिदाका कारण कात्तिक १२ गते मात्रै कार्यालय खुल्ने र त्यसपछि मात्रै अदालती प्रक्रियाको काम सुरू हुने हुँदा नेता बास्तोलाले अझै केही दिन प्रहरी हिरासतमा बस्नुपर्ने अवस्था रहेको बताए।
नेता बाँस्तोलालाई घटनास्थल नजिकै इलाका प्रहरी कार्यालय भालुवाङको प्रहरी हिरासतमा राखिएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत् कात्तिक २ गते राति पौने १० बजेतिर दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो।
उक्त दुर्घटनाका घाइते चौधरीलाई टाउकोमा चोट लागेको अवस्थामा प्रहरी नायब निरीक्षक डिएसपी जीवन केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार गरी स्वास्थ्य चौकी सिसहनियाँमा पुर्याएको भए पनि त्यसको केही बेरमै राति १० बजेपछि चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए।
घटनालगतै प्रहरीले नेता बाँस्तोलालाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी हिरासतमा बस्दै आएका छन्।
दसैंको समयमा आफैं गाडी चलाउँदै सुर्खेतस्थित घर तर्फ जान हिडेका नेता बाँस्तोला दुर्घटनाका कारण घर जान नपाई प्रहरी हिरासतमा बस्नु परेको हो। प्रहरी हिरासतमा रहेका नेता बाँस्तोलाले मदिरा सेवन गरेका मोटरसाइकल चालकले आएर आफ्नो गाडीमा ठोकेको भए पनि ठूलो गाडीको नै दोष मानिने हुँदा आफू थुनामा बस्नु परेको बताएको उनीनिकट एक नेताले बताए।
‘हाम्रो नेताले मेरो कुनै गल्ती थिएन,मापसे गरी मोटरसाइकल हाँकेका युवकको नै गल्ती थियो भन्नुहुन्छ, बाँकी कुरा त अनुसन्धानमा खुल्ला,’ एक नेताले भने।
क्रान्तिकारी कम्युनिष्ट पार्टीले पनि अनुसन्धानमा सघाउने ती नेताले जानकारी दिए।
प्रहरीले भने मोटरसाइकल चालक मृतक चौधरीले मापसे गरे, नगरेको कुरा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै भन्ने सकिने बतायो। दुर्घटनामा प्रवक्ता बाँस्तोलालाई भने कुनै चोटपटक लागेको थिएन।