(ABC-Sanchar)
काठमाडौं । बजारमा दसैँको सप्तमीका दिनसम्म खुद्रामा प्याजको मूल्य किलोको ५५ रुपैयाँ थियो । तर शनिवारदेखि प्याजको मूल्य किलोको ह्वात्तै बढेर १३० रुपैयाँ पुगेको छ । एक सातामै झन्डै तेब्बरले प्याजको मूल्य बढेपछि उपभोक्ताहरू मर्कामा परेका हुन् ।
शनिवार वीरगञ्जको प्रमुख तरकारी बजार मीन बजारमा प्याज किन्दै गरेको अवस्थामा भेटिएका वीरगञ्ज – ९ का भोला स्वर्णकारले भने, ‘मासु र प्याजको भाउ उस्ता उस्तै छ । प्याजको महँगीले अब भान्सा चलाउनै मुस्किल पो हुने भयो ।’
दसैँ सुरु हुनु अगाडि किलोको ५० रुपैयाँको भाउमा प्याज किनेका वीरगञ्ज – १५ का हरिओम साहले अहिले त्यही प्याजलाई किलोको १३० रुपैयाँ तिर्नुपर्दा पसीना छुटेको बताए । उनले भने, ‘चाडबाडकै बेला प्याजको भाउ अचाक्ली बढ्यो । भाउ सुन्दै पसीना आयो । अब त प्याज नै नहाली तरकारी खानु पर्ला जस्तो छ ।’
भारतले आफ्नै देशमा कम उत्पादन भएपछि निर्यात रोक्ने उद्देश्यका साथ गत अगस्ट १९ देखि डिसेम्बर ३१ तारिखसम्म (९ भदौ २ देखि पुस १५ गतेसम्म) का लागि प्याजको निर्यातमा ४० प्रतिशत निर्यात महसुल लागु गरेको र नेपाल सरकारले पनि गत साउनदेखि प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएका कारण नेपाली बजारमा अहिले प्याजको मूल्य ह्वात्तै बढेको हो ।
भारतको अर्थ मन्त्रालयअन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले गत भदौ २ गतेदेखि पुस १५ गतेसम्म लागु हुने गरी प्याज निर्यातमा ४० प्रतिशत कर थपेको हो । भारतले प्याजको निर्यातमा ४० प्रतिशत भन्सार कर र नेपाल सरकारलेपनि १३ प्रतिशत भ्याट लगाएपछि वीरगञ्जका व्यापारीले भारतबाट प्याजको आयात नै ह्वात्तै घटाइदिएका कारण बजारमा प्याजको भाउ आकासिएको हो ।
यसका साथै भारतमा गत साउन र भदौमा भएको भीषण वर्षाका कारण प्याजको उत्पादन नै कम भई भारतमै भाउ महँगिएका कारण पनि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको वीरगञ्जका थोक व्यापारीहरू बताउँछन् । नेपाल प्याजका लागि भारतमाथि निर्भर छ । देशमा कूल मागको ९५ प्रतिशतभन्दा बढी प्याज भारतबाटै आयात हुने गरेको छ ।
अचाक्ली कर थपिएकाले भारतबाट प्याज मगाउनै छोड्यौँ : थोक व्यापारी
वीरगञ्ज तरकारी तथा फलफूल व्यवसायी सङ्घका पूर्व अध्यक्ष विदुर कलवार भन्छन्, ‘अहिले बजारमा प्याजको भाउ ह्वात्तै बढ्नुको मुख्य दुई कारण छन् । एक त वर्षाले उत्पादन कम भएर भारतले निर्यात रोक्ने उद्देश्यले प्याजको निर्यातमा ४० प्रतिशत भन्सार कर थपिदिएको छ । अर्को कारण नेपाल सरकारले प्याजमा समेत १३ प्रतिशत भ्याट लगाइदिएका कारण थोक कारोबारीले उताबाट प्याज मगाउनै छाडेका छन् ।’
कलवारका अनुसार विगतमा व्यवसायीहरूले भारतबाट हुने तरकारीको कारोबारमा ५ प्रतिशत अग्रिम आयकर र ९ प्रतिशत कृषि सुधार शुल्क गरेर १४ प्रतिशत मात्र कर तिर्ने गरेका थिए । तर सरकारले गत साउन १ गतेदेखि आलु–प्याजमा १३ प्रतिशत भ्याट पनि तिर्नुपर्ने व्यवस्था गरेको छ । उता भारत सरकारले पनि प्याजको निर्यातमा ४० प्रतिशत भन्सार कर थपिदिएको छ । जसका कारण प्याजमा १४ प्रतिशतको सट्टा अब झन्डै ६५ प्रतिशत कर तिर्नुपर्ने अवस्था भएपछि कारोबारीले प्याजको आयात नै ह्वात्तै घटाइदिएको कलवार बताउँछन् ।
वीरगञ्जको रेल्वे रोडमा अवस्थित आलु–प्याजका थोक कारोबारी शिव कलवारले भने, ‘यो सरकारलाई जनता होइन कर मात्रै चाहिएको छ । भारतले त आफ्नो देशमा उत्पादन कम भएर प्याजको निर्यातमा ४० प्रतिशत कर थप्नु बेग्लै कुरा हो । तर हाम्रो सरकारले कर मात्रै असुल्नका लागि आलु–प्याजमा समेत भ्याट लगाउनु कहाँसम्मको जायज छ ? १४ प्रतिशतको ठाउँमा अब ६५ प्रतिशत कर तिरेर बेच्दा हामीले के कमाउने र ? त्योभन्दा बरु उताबाट प्याज मगाउनै छाडिदिएको छु ।’
मिना बजारका थोक व्यापारी मुकेश गुप्ताले भारतले ४० प्रतिशत र सरकारले १३ प्रतिशत भ्याट लगाएयता आफूले भारतबाट प्याज आयात नै नगरेको बताए । वीरगञ्जमा भारतबाट प्याज आयात गर्ने आफूसमेत तीन चार जना कारोबारी रहेको र उनीहरूले पनि अहिले उताबाट प्याज आयातको कारोबार बन्द गरिदिएको उनले बताए ।
बजारमा भारतबाट राजश्व छलेर ल्याइएको प्याज
वीरगञ्ज तरकारी तथा फलफूल व्यवसायी सङ्घका पूर्व अध्यक्ष कलवारका अनुसार अहिले वीरगञ्जको बजारमा खरिदबिक्री भइरहेको प्याज वैध नभई अवैध बाटोबाट अर्थात् राजश्व छलेर भित्राइएका प्याज हुन् । कलवारले भने, ‘भन्सार तिरेर वैध बाटोबाट ल्याएर बजारमा बेच्नै सकिन्न । त्यस कारण खुद्रा व्यापारीले सीमावर्ती सहर रक्सौलबाट साइकलमा भरियामार्फत राजश्व छलेर प्याज मगाएर बेचिरहेका छन् । त्यही प्याज उपभोक्ताले किनिरहेका छन् ।’
राजश्व छलेर साइकलमा भरिया मार्फत भित्राइएका कारण ढुवानी खर्च बढी पर्ने भएकाले अहिले बजारमा भाउ महँगिएको कलवारले बताए । कलवार भन्छन्, ‘ठूला थोक कारोबारीको गोदाममा अहिले प्याज नै छैन । त्यस कारण खुद्रा व्यापारीले जसोतसो रक्सौलबाट क्यारियरबाट साइकलमा ढुवानी गराएर बजारमा प्याज बेचिरहेका छन् । क्यारियरको चार्ज थप्दा भाउ महँगो पर्ने नै भयो ।’
यसका साथै भारतमा बढी प्याजको खेती हुने नासीक, इन्दौर, बैंगलोरलगायतका स्थानमा गत साउन–भदौमा भीषण वर्षाका कारणले खेती नै नष्ट भएपछि उत्पादन कम भई भारतमै प्याजको भाउ महँगिएकाले त्यसको सिधा असर नेपाली बजारमा पनि परेको वीरगञ्ज तरकारी तथा फलफूल व्यवसायी सङ्घका अध्यक्ष जग्गु साह तुरहाले बताए ।
तुराहाले भने, ‘रक्सौलकै बजारमा खुद्रामा प्याजको भाउ किलोको ९० रुपैयाँ (भारु ५५ रुपैयाँ) छ । क्यारियरबाट चोर बाटो मगाउँदा किलोको ११५ देखि १२० रुपैयाँ पर्न आउँछ । अनि यहाँ किलोको १३० रुपैयाँ छ ।