(एबिसि संचार )
६ किलो सुन, ६ किलो चाँदी र ६२ लाखभन्दा बढी नगदसहित पोखराबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर ११ घर भई हाल पोखरा महानगरपालिका–२ मोहरिया टोल बस्ने ४० वर्षीय सुरजित भौमिक रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापाले जानकारी दिए ।
पोखरा–२ मोहरिया टोलस्थित कविन्द्रप्रसाद श्रेष्ठको घर भाडामा लिई विगत लामो समयदेखि भौमिकले गरगहना बनाउने कालिगढको रुपमा काम गर्दै आएका थिए ।भैमिकले घर भाडामा लिई अवैध सुन ल्याइ विभिन्न गरगहना बनाएर बेचबिखन तथा कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको कोठामा लुकाइ राखेको सुनका गरगहना, काचो सुन, चाँदी, नगद र विभिन्न बैंकका चेकसहित नियन्त्रणमा लिएको थापाले बताए ।
प्रहरीका अनुसार उनको साथबाट पाँच किलो दुई सय ग्राम काँचो सुन, नौ सय ९९.९० ग्रामको एक ढिका (विस्कुट) एक थान र ५० ग्रामको एक ढिक्का (विस्कुट) गरी ६ किलो दुई सय ४९.९० ग्राम सुन बरामद गरेको छ ।
साथै उनका साथबाट ६ किलो चाँदी, ६२ लाख ८१ हजार नगद, विभिन्न बैंकका ६० लाख रुपैयाँबराबरका १३ थान चेक, मोबाइल, भारतको आधारकार्डलगायत सामान बरामद भएको एसपी थापाले जानकारी दिए ।