(एबिसि संचार ) प्रहरीले मकवानपुर र मोरङबाट अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार बिहान उनीहरुलाई लागुऔषधसहित पक्राउ गरिएको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागुऔषध गाँजा करिब २ किलोसहित रौतहट माधवनारायण नगरपालिका–१ बस्ने २७ वर्षीय महेशकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।ना.६ ख ३५५७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । त्यस्तै विराटनगर महानगरपालिका–१६ दरैया चोकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ७३ मिलिग्रामसहित सोही महानगरपालिका–१५ बस्ने १७ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।