(एबिसि संचार ) बारा प्रहरीले हुण्डी कारोबार गर्ने गिरोहलाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ । उक्त गिरोहले दैनिक सरदर २ करोडको कारोबार गर्दै आएको प्रहरी स्रोतले जनाएको छ ।प्रहरीले सोमबार बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ४, मुसहर्वाबाट हुण्डी गिरोहका २ जना नाइकेलाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ का हरिकिशोर प्रसाद पटेल र बाराको महागढी नगरपालिका वडा नम्बर १ बस्ने रमेश कुश्वहालाई पक्राउ गरिएको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए ।प्रहरीले उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ५० हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।बारा प्रहरी प्रमुख काफ्लेका अनुसार पक्राउ परेका दुवै जना अभियुक्त ठुलो रकममा कारोबार गरिरहेका नाइके रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।