(ABC-Sanchar)
काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरिरहेको क्रियाकलाप कानुनसम्मत नभएको बताएका छन् । प्रतिनिधिसभां बैठकपछि आइतबार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री महासेठले न्युरोडमा काठमाडौं महानगरपालिकाको क्रियाकलाप कानुनसम्मत नभएको बताएका हुन् ।
उनले भने, ‘जुन प्रकारले अहिले काठमाडौं महानगरपालिकाले आफ्नो क्रियाकलाप देखाउनुभएको छ, त्यसप्रति हामीले सरसल्लाह गर्दैछौं । न्युरोडमा अहिले जुन तोडफोड भइरहेको छ, र सडक विभागले यसलाई रोकेको छ । कलंकीदेखि महाराजगन्जको कुरा मैले व्यक्तिगत रुपमा सुझावको रुपमा लिएको छु । सल्लाहको लागि उहाँलाई धन्यवाद । मेरो कुनै आपत्ति छैन । यसलाई सकारात्मक रुपमा लिएको छु । त्यो बनाउनै पर्छ सरकारले । त्यसलाई मैले अन्यथा लिएको छैन । न्युरोडमा जुन क्रियाकलाप छ, त्यो कानुनसम्मत छैन ।’उनले न्युरोडमा भएको तोडफोडलाई सडक विभागले रोकेको पनि बताए ।
उनले काठमाडौं महानगरपालिकाको मेयर बालेन साहले फेसबुक स्टाटसमा लेखेको कुरामा कुनै सत्यता नभएको पनि बताए ।
शनिबार मेयर साहले मन्त्री महासेठलाई सम्बोधन गर्दै कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा महानगरवासीले धेरै धूलो र कष्ट बेहोर्नुपरेको भनि लेखेका थिए । उनले काम अगाडि नबढाउँदासम्म पायक पर्ने ठाउँमा एक ट्रक धूलो उपहार पठाउने भन्दै सडक विभागको कार्यालय अगाडि फोहोर राखिदिएको भिडियो हालेका थिए । यसप्रति प्रतिक्रिया दिँदै मन्त्री महासेठले मेयर साहको सल्लाह, सुझावलाई सकारात्मक रुपमा लिएको बताए । उनले रिङरोड बनाउने सम्झौता चीनसँग भएको भन्दै सरकारले पनि आन्तरिक बजेटबाट केही स्थानमा बनाउनका लागि बजेट व्यवस्थापन गरिसकेको जानकारी दिए ।