२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

नेपाली कांग्रेस र नेकपा एमाले एक दशकपछि सत्ता सहकार्य सहमति

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, आषाढ १८, २०८१

काठमाडौं । सोमबार राति कांग्रेस र एमालेबिच सत्ता सहकार्यका लागि सहमति भएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधनसहितको एजेन्डामा कांग्रेस र एमालेबिच सत्ता सहकार्य यात्रा तय भएको बताए । सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

दुई दलबिच भएको वार्तामा सहभागी का‌ंग्रेस नेताका अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ । कांग्रेस र एमाले यसअघि नै आधा दर्जन पटक सत्ता सहकार्य भएको थियो ।

२०५५ सालमा पहिलो पटक कांग्रेस र एमालेको सत्ता सहकार्य भएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको क्याबिनेटमा एमाले सहभागी भयो । एमालेबाट विभाजित भई बनेको माले तत्कालीन कोइराला नेतृत्वको सरकारबाट बाहिरिएपछि एमाले सहभागी भएको थियो ।

त्यसपछि २०६१ जेठमा शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिक र एमाले एक ठाउँमा उभिए । कांग्रेस विभाजन भई बनेको कांग्रेस प्रजातान्त्रिक र एमालेको सहकार्य भएको थियो । २०६४ मा कांग्रेस प्रजातान्त्रिक कांग्रेसमा विलय भएको थियो ।

२०६३ वैशाख ११मा जनआन्दोलन सफल भएपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कांग्रेस, एमाले लगायतका दलहरू सहभागी भए । विद्रोही माओवादी शान्ति वार्तामा आइ सोही सरकारमा सहभागी भएको थियो । पहिलो संविधान सभामा पनि एमाले र कांग्रेसको सत्ता सहयात्रा भयो ।

२०६६ जेठमा एमालेका तत्कालीन नेता माधव नेपाल नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएको थियो । नेपाल नेतृत्वको सरकारलाई कांग्रेससहित २२ दलको समर्थन थियो । ०६६ जेठमा प्रधानमन्त्री बनेका नेपालले २०६७ असारमा राजीनामा दिए । नयाँ सरकार गठनमा विलम्ब भएपछि २०६७ माघसम्म नेपाल कामचलाउ प्रधानमन्त्रीका रूपमा थिए । पहिलो संविधानमा १८ महिना सत्ता सहकार्य गरेका कांग्रेस र एमाले दोस्रो संविधान सभापछि पुनः एक ठाउँमा आए ।
कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारमा कांग्रेस र एमालेको सहकार्य भएको थियो । २०७० माघमा गठन भएको कोइराला नेतृत्वको कांग्रेस–एमाले सम्मिलित सरकारका पालामा २०७२ असोजमा नेपालको संविधान जारी भएको थियो । संविधान बनेपछि कांग्रेस र एमालेबिच सत्ता सहकार्यको साइत जुरेको छैन ।

तत्कालीन नेकपा विभाजन भई एमाले र माओवादी केन्द्र अलग–अलग भएपछि २०७८ वैशाख २२ मा तत्कालीन प्रधानमन्त्री ओली देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । सोही वैशाख २७ मा विश्वासको मत लिने तयारीमा रहेका ओलीले देउवालाई सत्ता सहकार्यको प्रस्ताव गरेका थिए । तर, माओवादी, जसपा र एमालेकै माधव नेपाल पक्षलाई विश्वासमा लिएर प्रधानमन्त्री बन्ने योजनामा रहेका देउवाले ओलीको प्रस्ताव अस्वीकार गरे ।

विश्वासको मत पाउन नसकेपछि पद मुक्त भएका ओलीले पुनः दाबी पेस गरी दोस्रो पटक संसद् विघटनको बाटो रोजे । ओलीको दोस्रो पटकको संसद् विघटन पनि असंवैधानिक ठहर गरी सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । असार २८ मा सर्वोच्च मार्फत ओलीलाई विस्थापन गरेका देउवाले २०७८ फागुनमा सत्ता सहकार्यको हात अघि बढाएका थिए ।

तत्कालीन सत्ता गठबन्धनमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्‌बाट पारित गर्नुअघि मतभेद हुँदा कांग्रेस र एमालेबिच सत्ता सहयात्राको चर्चा चलेको थियो । अन्तिममा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी पारित गर्न सघाएपछि कांग्रेस र एमालेको सत्ता सहकार्यको च्याप्टर क्लोज भएको थियो । २०७९ को आम चुनावपछि कांग्रेस र एमालेबिच सत्ता सहकार्यका लागि संवाद भएको थियो ।

आम निर्वाचनबाट कांग्रेस पहिलो दल बनेपछि देउवाले पहिलो कार्यकाल प्रधानमन्त्री बन्न एमालेसँग संवाद थालेका थिए । तत्कालीन चुनावी गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो कार्यकाल प्रधानमन्त्री चाहिने अडान कसेपछि देउवाले एमालेको समर्थन खोजेका थिए । कांग्रेस नेता विमलेन्द्र निधिले कांग्रेस र एमालेलाई एक ठाउँमा ल्याउने प्रयास गरे पनि विश्वासको वातावरण बन्न सकेन । ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २०७९ पुस १० मा प्रधानमन्त्रीमा अगाडि सारेर कांग्रेसलाई विपक्षी कित्तामा पुर्‍याए ।

पछिल्लो १८ महिना प्रधानमन्त्री प्रचण्डलाई काँध थाप्न कांग्रेस र एमालेबिच प्रतिस्पर्धा चल्यो। २०७९ फागुनमै एमालेको काँध फेरेका प्रचण्डले कांग्रेसलाई साथमा लिए भने २०८० फागुनदेखि फेरि एमाले काँध हाल्यो । असार १७ मा आएर प्रधानमन्त्री प्रचण्डलाई काँधबाट झारेर कांग्रेस र एमालेले सत्ता सहकार्यका लागि समझदारी गरेका छन् ।

कांग्रेस र एमालेको आधा दर्जन पटकको सत्ता सहकार्यले संविधान निर्माण बाहेक उपलब्धि र राजनीतिक स्थिरता दिन नसकेको विगतको चित्र छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट चोरी, दुर्घटना, मादक पदार्थ सेवन गरी चलाएको, कागजात नभएको, नम्बर प्लेट नभएको लगायत कारणले प्रहरीले नियन्त्रणमा लिएका सयौं मोटरसाइकल अहिले कपनस्थित प्रहरी विशेष कार्यदलको कार्यालय परिसरमा थुपारिएका छन्। *किन थुप्रिए:* 1. *चोरीका सवारी*: धेरै मोटरसाइकल चोरीको उजुरी परेका तर धनी सम्पर्कमा नआएका। 2. *कागजात अभाव*: बिलबुक, ब्लूबुक, लाइसेन्स नभएका वा […]

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

error: Content is protected !!