काठमाडौं । गत शुक्रबार बिहान ८ बजे बोलाइएको १५औं अधिवेशनको चौथो नगरसभा स्थगन भएयता कहिले बैठक बस्ने टुंगो भएको छैन ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बिहीबारसम्म पनि बैठक बस्ने कुनै खबर नपाएको बताए । ‘नगरसभा बैठकको विषयमा मलाई पनि थाहा हुँदैन,’ उनले भने, ‘नगरसभा बोलाउने मेयर सापले मात्र हो । उहाँलाई नसोधी भन्न सकिन्न । सभा बस्नलाई छलफल पनि भएको छैन ।’ अहिलेसम्म सहमतिमा जान नसकेको विषयमा मेयर शाहले प्रस्तावका रूपमा ल्याइसकेपछि मात्र सहज ढंगबाट अगाडि बढ्ने उनले सुनाए ।
मेयरको सचिवालयले आउँदो साताभित्र नगरसभा बैठक बस्नलाई तयारी गरिरहेको जानकारी दिएको छ । काठमाडौं महानगरपालिका, नगरसभा सञ्चालन कार्यविधि, ०७४ अनुसार बजेट र नीति तथा कार्यक्रम अब सहमतिबाटै असारभित्रै पास गरेर लैजानुपर्ने अवस्था रहेको मेयरको सचिवालय बताउँछ । कार्यविधिअनुसार अधिवेशनको गणपूरक संख्या नपुगे दुई दिनभित्र अर्को अधिवेशन बस्ने गरी सूचना गर्नुपर्नेछ । तर उक्त समयभित्र अधिवेशन नबसे २५ प्रतिशत नगरसभा सदस्यको उपस्थितिमा अधिवेशन बस्नेछ ।