दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरीमा पछिल्लो केही समयदेखि सवारी दुर्घटना बढ्न थालेपछि भालुवाङ ट्राफिक प्रहरीले आफ्नो क्रियाशिलता बढाएको छ । पूर्व—पश्चिम राजमार्ग अन्तरगत लमही—भालुवाङ सडक खण्डमा सवारीसाधनहरुकाे चाप बढेसंगै सडक दुर्घटना बढ्न थालेपछि अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङले आफ्नो सक्रियता बढाएको हो ।
पूर्व-पश्चिम राजमार्गमा तीब्रगतिमा हुइँकिने सवारी साधनलाई ट्राफिक प्रहरीले ठाउँको ठाउँ नियन्त्रणमा लिएर कार्वाही पनि गरेको छ । तीब्रगतिमा गुडेका सवारी साधनहरु दुर्घटनामा पर्न थालेपछि त्यसको न्यूनीकरण गर्ने उद्देश्यले राजमार्गमा सवारी साधनमाथि भालुवाङ ट्राफिक प्रहरीद्वारा निगरानी बढाइएको हो ।
गाडीको गति जाँच गर्ने लेजर गन मेसिन अर्थात् राडार गनकाे सहायताले सवारी साधनको गति नाप्न थालिएको अस्थायी ट्राफिक पोष्ट भालुवाङका कार्यालय प्रमुख भुपेन्द्रप्रसाद गौलीले जानकारी दिएका छन् । राजमार्गमा तीब्रगतिमा गुड्ने सवारीसाधनकै कारण दुर्घटना बढिरहेको कुरा गर्दै भालुवाङ ट्राफिक प्रहरी प्रमुख गौलीले दुईपांग्रे र चारपांग्रे सवारीसाधनको गति बढी तिब्र हुने भएकाले त्यस्ता सवारीसाधनहरु माथि निगरानी शुरु गरिएको बताए ।
साथै गौलीले नियममा तोकिएको गतिभन्दा तीब्रगतिमा सवारीसाधन चलाउनेलाई कारवाही थालिएको जानकारी दिए । ‘तीब्रगतिमा गुड्नु नै जोखिम निम्त्याउनु हो । सवारी साधन जाँचसँगै सचेत गराउने काम पनि गरिरहेका छौँ’- भालुवाङ ट्राफिक प्रहरी प्रमुख गौलीले स्पष्ट पारे । ‘ कार,मोटरसाइकल, स्कुटी लगायतका सवारीसाधनको गति अधिक पाइएको छ । गति नियन्त्रण नै दुर्घटना न्यूनीकरणको एउटा महत्त्वपूर्ण तरिका हो, उनले दाबी गरे ।
पूर्व-पश्चिम राजमार्गको लमही—भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ३, मसुरियामा बिहीबार अपरान्हदेखि राडार गनबाट सवारीसाधनको गति नाप्ने कार्यक्रमको थालनी भएको छ । शुरु दिनमा नै अन्तरराष्ट्रिय कुटनीतिक नियोगको गाडीदेखि सरकारी तथा सार्वजनिक र निजी सवारीसाधनको गति नापेर कार्वाही थालेको अस्थायी ट्राफिक पोष्ट भालुवाङका प्रमुख भुपेन्द्रप्रसाद गौलीले जानकारी दिए ।
गति जांचको पहिलो दिन बिहिबार मात्रै अन्तराष्ट्रिय कुटनीतिक नियोग (युएन) कार, घोराही उप—महानगरपालिका स्कारपियो र राप्ती गाउँपालिकाको कृषि एम्बुलेन्स, एउटा सरकारी मोटरसाइकल र २० वटा नीजि तथा सार्वजनिक सवारीसाधन गरी २५ वटा सवारीसाधनले तीब्रगतिमा गाडी हाँकेकोमा जरिवाना गरिएको ट्राफिक प्रमुख गौलीले दाबी गरेका छन् । राजमार्गमा प्रतिघण्टा ६० किलोमिटरभन्दा बढीको गतिमा गाडी चलाउनेहरुलाई पहिलो चरणमा ट्राफिक नियम अनुसार प्रतिसवारी एक हजारका दरले जरिवाना गरी प्रचलित ट्राफिक नियमहरु पालना गर्ने सहमतिमा छोडिएको उनले बताए ।
प्रतिघण्टा ६० किलोमिटरभन्दा बढी हाँक्ने सवारी साधनलाई कारवाही गरिएको छ । सवारीसाधन ६० किलोमिटर प्रतिघण्टा भन्दा बढीको दरले हुइँकिने गरेका छन् । दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षासहित अबदेखि पूर्व-पश्चिम राजमार्ग सडक खण्डमा अभियान सञ्चालित छ ।
‘प्रयोगमा ल्याइएको राडार गन विशेष तथा अत्याधुनिक प्रविधिको छ । यसले टाढैबाट आइरहेका तीब्रगतिका सवारीसाधनबारे गतिको तत्काल संकेत दिने’ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख राजेश शाहीले भने । ‘तीनसय मिटर नजिक आएपछि गति मापन गर्छ । गाडी तीब्र गति छभने एकसय मिटरको दुरीमा आएपछि स्वचालित रूपमा नम्बर सहितको सवारीसाधनको फोटो खिचिन्छ । मेसिनकै सहायताले तिब्र गतिका त्यस्ता सवारीसाधन रोकेर आवश्यक परामर्श गरी जरिवाना पनि गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शाहीको भनाइ छ ।’
कुनगाडी कति गतिमा गुडेको छ, भन्नेकुरा त्यसले गनमा अंक देखाउँछ र तस्बिर पनि खिच्ने भएकोले तत्काल प्रमाणसहितको चिट दिई कारवाही गर्न सहज भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । राडार गनले सवारीको गति नापेर हेर्दा तीब्रगतिमा धेरैजसो नीजि कारहरु, भाडाका गाडी, सार्वजनिक बस, मोटरसाइकल र स्कुल बस पनि तीब्रगतिमा गुड्ने गरेका छन् ।
यसरी निर्धारित गतिभन्दा वेगमा हुइँकिने सवारीसाधनलाई कारवाही गरिएको छ । ट्राफिक प्रहरीले विद्यालय तहमा पनि ट्राफिक सचेतना कार्यक्रम पनि सञ्चालन गरेको छ । ट्राफिक प्रहरी कार्यालयले सवारीसाधनका चालक, पैदल यात्री र आम सर्वसाधारण नागरिकलाई ट्राफिक नियमकाे पालना र यसबाट हुने सुरक्षित यात्राको बारेमा जानकारी गराउने गरेको छ । ‘विगतका केही दिनदेखि राजमार्गमा सवारीसाधन दुर्घटनाको संख्या बढेकोले राजमार्ग केन्द्रित सवारी जाँच अभियान चलाइएको छ’- ट्राफिक कार्यालय दाङका प्रमुख शाहीले भने । ‘सवारी चालकको लापरवाही, तीब्र गति, मापसे, लापसे जस्ता कारणले गर्दा दुर्घटना हुने पाइएको छ । दुर्घटना न्यूनीकरणका लागि जनचेतना सँगै गल्ती गर्नेलाई जरिवाना कारवाही दुबै रणनीतिका साथ अघि बढेका छौं ट्राफिक प्रमुख शाहीको भनाइ छ ।