काठमाडौं । साना दललाई साना मन्त्रालय र ठूला दललाई ठूला मन्त्रालय दिने गरी भागवण्डा मिलाइएको छ । जनता समाजवादी पार्टी, जसपा नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी लगायतले साना मन्त्रालय पाउने भएका छन् ।
साना दलहरूका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कृषि तथा पशुपन्छी विकास र खानेपानी मन्त्रालयहरू छुट्याइएको छ ।
एमालेले अर्थ र भौतिक पूर्वाधार सहितका ७ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसले गृह, परराष्ट्र सहितका ८ मन्त्रालय सम्हाल्नेछ ।
दुई दलका नेताहरूका अनुसार, एमालेले नेतृत्व गर्ने मन्त्रालयहरूमा अर्थ, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि, शिक्षा विज्ञान तथा प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण रहेका छन् ।
कांग्रेसका लागि छुट्याइएका मन्त्रालयहरूमा गृह, परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिंचाई, स्वास्थ्य तथा जनसंख्या, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला र वन तथा वातावरण रहेका छन् ।
रक्षा मन्त्रालयको बाँडफाँडको कुरा भने अझै टुंगो लागेको छैन ।