बाँके । नेपालगन्ज कोहलपुर सडकखण्ड क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकिङ सुरु गरेको छ । चाडपर्वका बेला सवारी दुर्घटनामध्ये अधिकांश तीव्र गतिका कारण हुने देखिएकाले दुर्घटना न्यूनीकरणका लागि राडर गनको सहायताले चेकजाँच सुरु गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्त आफैं सडकमा उभिएर दुर्घटना न्यूनीकरणको लागि राडर गनसहित चेकजाँचमा खटिएका छन ।
सवारीसाधनका चालकलाई पहिलो पटक नियमअनुसार सवारीसाधन चलाउन सचेत पारिएको ट्राफिक प्रमुख पन्तले बताए । गनापुरमा भएको सवारी चेकजाँचमा ट्राफिक प्रमुख प्रहरी निरीक्षक पन्त आफै खटिएर नियमअनुसार सवारीसाधन चलाउन चालकहरुलाई सचेत बनाएको छ्न ।
राडर गनले सवारीसाधनको गति नाप्ने काम गर्छ । यो खण्डमा स्पीड गति ५० उल्लेख गरेर वोर्ड पनि राखिएको छ । तर पनि चालकहरुले तीब्र गतिमा सवारी साधन गुडाउने गरेका छन् । जसका कारण दुर्घटनाको जोखिम बढ्ने गरेको छ । यही कुरालाई दृष्टिगत गरी बाँके जिल्ला ट्राफिक प्रहरीले राडर गनबाट सवारी साधनको गति नाप्ने र निश्चित गतिभन्दा बढी देखिएको कारवाही गर्ने नीति लिएको छ ।
पहिलो दिन दुई सय सवारी साधनलाई नियमाअनुसार सचेत बनाइएको छ । चाडपर्वमा हुन सक्ने दुर्घटनाको जोखिम न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सजगता अपनाएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक पन्तले बताए । उनले मातहतका सबै तहलाई सवारीसाधन चेकजाँचलाई कडाइ गर्न निर्देशन दिएको पनि उल्लेख गरे । चाडपर्वको वेलामा सिट क्षमता भन्दा बढी यात्रु राख्ने, तीब्र गतिमा सवारी साधन चलाउने लगायतका कारण दुर्घटना बढ्ने गर्छ । यसलाई नियन्त्रणमा लिन ट्राफिक प्रहरीलाई चेकजाँचमा कडाइ गर्न जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक पन्तले निर्देशन दिएका छ्न ।