१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
×

घोराहीका १९ वटै वडामा हुने बृहत् स्वास्थ्य परीक्षण अभियान सिमलताराबाट सुरु नागरिक स्वस्थ भए मात्रै नगर बनाउन सकिन्छ : प्रमुख जिल्ला अधिकारी पाण्डे

Logo
Abc Sanchar प्रकाशित आइतबार, आश्विन १८, २०८३

घोराहीका १९ वटै वडामा हुने बृहत् स्वास्थ्य परीक्षण अभियान सिमलताराबाट सुरु
नागरिक स्वस्थ भए मात्रै नगर बनाउन सकिन्छ : प्रमुख जिल्ला अधिकारी पाण्डे

दाङ, घोराही । घोराही उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन गर्न लागिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् स्वास्थ्य परीक्षण अभियान घोराही–१ सिमलताराबाट सुरु भएको छ।
घोराही बनाऔँ अभियानको आयोजना तथा सञ्जीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा असोज १८ गते आइतबार सिमलतारामा निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा करिब एक सय जना बालबालिका, महिला, वृद्धवृद्धा तथा स्थानीय नागरिकले स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श लिएका थिए।
राम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं स्थानीय समाजसेवी गोकर्ण डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे प्रमुख अतिथि तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठ विशिष्ट अतिथि रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले नागरिक स्वस्थ भए मात्रै समृद्ध र व्यवस्थित नगर निर्माण गर्न सकिने बताउनुभयो। उहाँले स्वास्थ्यलाई विकासको आधारका रूपमा लिएर स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने अभियान सकारात्मक र आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
“नागरिक स्वस्थ भए मात्रै नगर बनाउन सकिन्छ। विकासका अन्य पूर्वाधारसँगै नागरिकको स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्छ,” उहाँले भन्नुभयो। ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयासले स्वास्थ्य सेवामा पहुँच बढाउनुका साथै समयमै रोग पहिचान गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दीपक श्रेष्ठले नागरिकको स्वास्थ्य र सुरक्षालाई एकअर्काका परिपूरक पक्षका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले समुदायसँग प्रत्यक्ष जोडिने यस्ता कार्यक्रमले नागरिकमा स्वास्थ्य सचेतना बढाउनुका साथै स्थानीयस्तरमा सहकार्यको वातावरण निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले स्वास्थ्य सेवा नागरिकको मौलिक आवश्यकता भएकाले स्थानीयस्तरमै विशेषज्ञ सेवा पुर्‍याउने अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। उहाँले स्वास्थ्य परीक्षणसँगै नागरिकलाई रोगको रोकथाम, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैलीका विषयमा सचेत गराउनुपर्नेमा जोड दिनुभयो।
सञ्जीवनी टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले अस्पतालले स्वास्थ्य सेवाको पहुँच विस्तारलाई आफ्नो सामाजिक दायित्वका रूपमा लिएको बताउनुभयो। स्थानीय समुदायलाई लक्षित गरी विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउँदा समयमै स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो।
कार्यक्रमका बारेमा जानकारी दिँदै घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासनले अभियानलाई घोराहीका १९ वटै वडामा पुर्‍याउने बताउनुभयो। उहाँका अनुसार स्वास्थ्यसम्बन्धी सेवा लिनका लागि ग्रामीण तथा विपन्न समुदायका नागरिकले टाढा जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
“स्वस्थ नागरिकबिना समृद्ध घोराहीको कल्पना गर्न सकिँदैन। त्यसैले स्वास्थ्यलाई हाम्रो अभियानको महत्वपूर्ण प्राथमिकताका रूपमा लिएका छौँ। पहिलो चरणमा वडा नम्बर १ सिमलताराबाट सुरु भएको यो अभियान घोराहीका १९ वटै वडामा पुर्‍याउने हाम्रो लक्ष्य हो,” प्रियासनले भन्नुभयो।
उहाँले स्वास्थ्य परीक्षणलाई केवल एकदिने कार्यक्रमका रूपमा नभई नागरिकलाई नियमित स्वास्थ्य परीक्षणप्रति जागरुक बनाउने अभियानका रूपमा अघि बढाउन खोजिएको बताउनुभयो। “घरआँगनमै विशेषज्ञ चिकित्सक पुग्दा नागरिकले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन पाउँछन्। समस्या देखिएमा समयमै उपचार र थप परामर्शका लागि सम्बन्धित स्वास्थ्य संस्थासम्म पुग्न पनि सहज हुन्छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा जनरल फिजिसियन, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ र बालरोग विशेषज्ञसहितका चिकित्सकले स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श दिएका थिए। विशेषगरी महिला, बालबालिका, वृद्धवृद्धा तथा विभिन्न स्वास्थ्य समस्या भएका नागरिकले सेवा लिएका थिए।
स्वास्थ्य परीक्षणका क्रममा समस्या देखिएका नागरिकलाई आवश्यक चिकित्सकीय परामर्श दिनुका साथै स्वास्थ्यसम्बन्धी जानकारीसमेत प्रदान गरिएको आयोजकले जनाएको छ। नियमित स्वास्थ्य परीक्षणको महत्त्व, रोगको समयमै पहिचान तथा उपचारका विषयमा समेत नागरिकलाई सचेत गराइएको थियो।
कार्यक्रमको सहजीकरण सञ्जीवनी टिचिङ हस्पिटलका प्रशासकीय अधिकृत सुशील रिजालले गर्नुभएको थियो।
घोराही बनाऔँ अभियान र सञ्जीवनी टिचिङ हस्पिटलले आगामी दिनमा घोराही उपमहानगरपालिकाका १९ वटै वडामा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन्। स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध भएपछि विशेषगरी ग्रामीण क्षेत्र तथा आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई स्वास्थ्य जाँचका लागि टाढा जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।
आयोजकले अभियानमार्फत नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउँदै समयमै स्वास्थ्य परीक्षण गर्ने संस्कार विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। घोराहीको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगार, उद्यमशीलता लगायतका क्षेत्रलाई समान प्राथमिकता दिनुपर्ने धारणा राख्दै अभियानले स्वास्थ्य परीक्षण कार्यक्रमलाई पनि आफ्नो निरन्तर अभियानका रूपमा अघि बढाउने जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]

रसुवा बाढीले क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खोलिँदै धादिङ । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा डोजरको सहयोगमा अस्थायी ट्र्याक खोल्ने काम भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

घोराहीका १९ वटै वडामा हुने बृहत् स्वास्थ्य परीक्षण अभियान सिमलताराबाट सुरु नागरिक स्वस्थ भए मात्रै नगर बनाउन सकिन्छ : प्रमुख जिल्ला अधिकारी पाण्डे दाङ, घोराही । घोराही उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन गर्न लागिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् स्वास्थ्य परीक्षण अभियान घोराही–१ सिमलताराबाट सुरु भएको छ। घोराही बनाऔँ अभियानको आयोजना तथा सञ्जीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा […]