नवलपरासी । सुस्ताका दुईजना नेपालीलाई समात्न उनीहरु गाडीसहित आएका हुन् । भारतीय हतियारधारी सशस्त्र बन रक्षकको टोली छिरेर दुईजना नेपालीलाई पक्राउ गर्न शुक्रबार दिउँसो आएका हुन् ।
तर, भारतीय सुरक्षाकर्मी नेपाल छिरेको थाहा पाएपछि स्थानीयले घेरा हालेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)लाई खबर गरेका थिए । केहीबेरमै भारतीय हतियारी सुरक्षाकर्मीलाई सशस्त्रले नियन्त्रणमा लिएर भारततिरै पठाइदिएको हो ।
सशस्त्रले नियन्त्रणमा लिएपछि भने भारतीय सुरक्षाकर्मीहरुले आफूहरु सशस्त्र वनरक्षक भएको र गस्ती गर्ने क्रममा बाटो भुलेर नेपाल तर्फ आउन पुगेको भन्दै उम्किएका थिए । सामान्य केरकारपछि प्रहरीले उनीहरुलाई भारततिरै पठाइदिएको छ । भारतीय सुरक्षाकर्मीहरु हतियारसहित नेपाली बस्तीमा छिरेपछि सुस्ताबासी त्रसित बनेका छन् शुक्रबार दिउँसो साढे ३ बजे बिआर २२ बिजे ४४१६ नम्बरको जिपमा उनीहरु आएका थिए ।
सुस्ताका स्थानीय बासिन्दाका अनुसार उनीहरु हतियारसहित गाडीमा ५ जना आएका थिए । भारतीय भूभाग हुँदै बिना अनुमति सोझै हतियारसहित सुस्ता आएका थिए । यसरी गैरकानुनी रुपमा प्रवेश गर्दा नेपाली सुरक्षाकर्मीहरु भने बेखबर बनेका थिए । स्थानीयले घेरा हालेर नियन्त्रणमा लिएपछि मात्रै प्रहरी र सशस्त्रले थाहा पाएका थिए । भारतीय सुरक्षाकर्मी छिरेको देखेपछि सुस्ताका स्थानीयले नाराबाजी गरेका थिए ।
स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीहरु सुस्ताका नेपाली नागरिक दुखी यादव र हिरामन तुरहालाई पक्राउ गर्न आएको तर स्थानीयले प्रतिकार गरेपछि उनीहरुको योजना विफल भएको थियो । सुस्तामा अरु बेला पनि भारतीय सशस्त्र सीमा बललगायत सुरक्षाकर्मीबाट लुटिने, कुटिने, दुर्व्यवहारजस्ता घटना हुँदै आएका छन् ।
सुस्तावासीलाई सीमा हुँदै आउजाउ गर्दा चेकजाँचका नाममा दुःख दिने गरेको भन्दै विरोध हुने गरेको छ । यसरी विरोध गर्नेहरुलाई भारतीय सुरक्षाकर्मीले दुर्व्यवहार गर्ने गरेका छन् ।
सुस्ताबासीलाई समान्य किनमेलकालागि पनि भारतीय बजारको भर पर्नुपर्ने बाध्यता छ । दैनिक घरायसी सामान किनमेल गर्न जाँदापनि भारतीय सुरक्षाकर्मीले हरेक पटक हुने जाचमा दुःख दिने गरेका एक स्थानीयले बताए