बुटवल । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार चालू आर्थिक वर्षको असोज १ गतेदेखि मंसिर मसान्तसम्ममा प्रदेशभरका १२ जिल्लामा गरिएको ट्राफिक कारबाहीमा ३५ हजार ५०५ सवारीसाधन कारबाहीमा परेका हुन् ।
ट्राफिक प्रहरीले नियम उल्लंघन गरेर चलाएका सवारीसाधनबाट ४ करोड ३९ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले दिएको जानकारी अनुसार रुपन्देहीमा सबैभन्दा बढी १० हजार ५३० सवारीसाधन कारबाहीमा पर्दा १ करोड ४७ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरिएको हो भने अर्घाखाँचीमा सबैभन्दा कम सवारीसाधन कारबाहीमा परेका छन् । अर्घाखाँचीमा ५९६ कारबाहीमा पर्दा ७ लाख २४ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
सवारीसाधन कारबाही अन्तर्गत पश्चिम नवलपरासीमा २१ सय ४५ सवारीसाधन कारबाहीमा परेका छन् भने त्यहाँबाट २६ लाख १ हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी कपिलवस्तुमा १८ सय ८९ सवारीसाधन कारबाहीमा पर्दा २४ लाख ४१ हजार जरिवाना वापतको राजस्व संकलन गरिएको छ । पाल्पामा ११ सय ७७ सवारीसाधनलाई कारबाही गर्दै ट्राफिक प्रहरीले १४ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
त्यसैगरी, गुल्मीमा १२ सय ९४ सवारीसाधनलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले १० लाख १४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको हो । जिल्ला ट्राफिक प्रहरीले दाङमा ४९ सय २१ सवारीसाधनलाई कारबाही गर्दा ५५ लाख ६ हजार ५०१ रुपैयाँ राजस्व संकलन गरेको हो । ट्राफिक नियम उल्लंघन गरेका सवारीसाधनलाई गरिएको कारबाहीमा लुम्बिनी प्रदेशमा बाँके दोस्रोमा रहेको छ । बाँकेमा ८३ सय ९५ सवारीसाधनलाई कारबाही गरिएको छ । जसमा ट्राफिक प्रहरीले ७३ लाख ४७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ ।