दाङ । भालुवाङ सम्पूर्ण मानव जातिका उद्धारकर्ता प्रभु येशू ख्रिष्टकाे जन्मोत्सव क्रिसमस अर्थात् बडादिन बुधबार मनाइएको छ । प्रभु परमेश्वर मानिसको रुपमा मानिसको पापकाे मूल्य चुकाउन स्वर्ग छाेडेर पृथ्वीमा अवतरण भएको खुशियाली अवसरकाे विश्वास गरेर यो पर्व मनाउने गरिन्छ ।
दाङको पूर्वी देउखुरी भालुवाङमा बडादिन क्रिसमस भव्य र उल्लासमय तरिकाले सम्पन्न गरिएको छ । भालुवाङस्थित भालुवाङ बप्तिस चर्चकाे प्राङ्गणमा चर्चका पाष्टर बिदुर एम सीको अगुवाइमा सो क्रिसमस कार्यक्रम भएको हाे । बालबालिका, युवायुवती तथा बूढाबूढी सबै उमेर समूहका मानिसहरु चर्चमा भेला भएर जीवित परमेश्वरको भक्ति आराधना गरेका थिए ।
केही कोरस गीतका साथमा प्रभु येशू ख्रिष्टका जन्म सम्बन्धि क्रिसमस क्यारल गीतमा सबै झुमेका थिए । क्रिसमस पर्व खाने पिउने रमाइलो गर्नेमा मात्रै सिमित हुँदैन । प्रभु परमेश्वर येशू ख्रिष्टकाे नाममा मानिसको पापकाे ज्याला चुक्ता गर्न बालक मानिस बनेर हाम्रो बीचमा आउनुभएकोमा उहाँप्रती हामी सबै धन्यवादी बन्नुपर्छ र अरुलाई पनि यस्तो अभूतपूर्व खुसीको कुरामा जोडनु नै यो पर्वको खास अर्थ भएको कार्यक्रममा उपस्थित भक्तजनहरुले बताएका छन् ।
सारा विश्वभरका सबै देशहरुमा सबै जातीका मानिसको खुशीको पर्व भएकोले त्यही रूपमा यो पर्व मनाइने गरिएको र यो सम्पूर्ण मानवका लागि एउटा ठूलो अवसर भएको उल्लेख गर्दै चर्चका पाष्टर बिदुर एम सीले पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरकाे वचन पाठ गरेर उपस्थित सबैलाई आशिशीत तुल्याएका थिए । सेवाको सञ्चालन चर्चकि सचिव सरस्वती नेपालीले गरेकी हुन् ।