२७ आषाढ २०८२, शुक्रबार
11-07-2025 , Fri
×

६ महिनादेखि एक युवक अस्पतालमा बन्धक

Logo
प्रकाशित बुधबार, पुष ०९, २०७६

बिराटनगर ९ पुस २० वर्षका जीवन भुजेलको गत भदौमा आमाको मृत्यु भएको एक वर्ष पुग्यो । एक महिनाअघि दाजुको मृत्यु भयो । तर बिडम्बना न उनी आमाको बर्खान्तमा पुग्न पाए न दाजुको दाहसंस्कारमा ।
६ महिनाअघि भएको अकल्पनीय घटनाले उनलाई विराट नर्सिङहोम (विराटनगर अस्पताल) मा बन्धक बनेर बस्न बाध्य बनाएको छ ।
संखुवासभाको खादबारी नगरपालिका– १० घर भएका जीवनको दैनिकी जसोतसो चलेकै थियो । बुबा गाउँमा सानो तिनो काम गर्थे । उनी पनि मजदुरी गर्थे ।
जीवन गत असार ५ गते भोजपुर षडानन्द गाउँपालिकाको मझुवाबेसीमा इखुवा खोला जललविद्युत आयोजनामा काम गर्न पुगे । त्यसै क्रममा साथीहरुबीच भएको झगडा छुट्याउन गएका उनलाई पछाडिबाट कसैले टाउकोमा रडले हान्यो । फर्केर हेर्दा फेरि रडले घाटीमा हान्यो ।
त्यसपछिको अवस्था उनलाई याद छैन । होसमा आउँदा उनी विराट नर्सिङहोमको आईसीयूमा थिए । ‘घोपामा ल्याउदा उपचार सम्भव नभएपछि यहाँ ल्याएको रे ।’ हातले इसारा गर्दै भने ‘यहाँ बसेको ७ महिना भयो ।’
घाँटीमा गहिरो चोट लागेका कारण चिकित्सकले बोल्न नमिल्ने बताएका छन् । सास फेर्नका लागि घाँटीबाट पाइप हालिएको छ । कसैले प्रश्न गरे हातको इसारा र लेखेर जवाफ दिन्छन् । जीवनलाई उपचारका लागि बुबा गणेशले विराटनगर ल्याएका थिए । उपचार खर्च नभएपछि उनी पनि सम्पर्कविहीन भएका छन् ।
अस्पतालका अनुसार जीवनको उपचार खर्च साढे तीन लाख भन्दा बढी छ । तर विपन्न परिवारका युवक जीवनले तिर्न सक्ने अवस्था छैन । मजदुरी गर्ने बुबा पनि सम्पर्कविहीन भएपछि अस्पतालमा नै बसिरहेका छन् ।
पाँचौ तलाको सर्जिकल वार्डमा रहेका उनले इसाराले भने ‘यहाँबाट तल जान दिदैनन् ।’ अस्पतालले पनि उनको निगरानीका लागि सुरक्षा गार्ड परिचालन गरेको छ ।
क्यान्टिनले भात दिएन, औषधि पनि छैन
जीवनसँग उपचार खर्च तिर्ने पैसा भएको भए असार अन्तिम साता नै घर पुगिसक्थे । तर पैसा नभएपछि अस्पतालको क्यान्टिनले भात दिन पनि छाडेको छ ।
‘अस्पतालको क्यान्टिनमा भात खाएको २८ हजार पुगेछ’ जीवनलाई कुरेर बसेका साथी दीपक भुजेल भन्छन् ‘क्यान्टिनले नदिएपछि बाहिरबाट ल्याएर खान्छौं ।’ उनी जीवनको कुरुवा बसेको पनि चार महिना भयो । तर उनीहरुले घर जाने अझै टुंगो छैन । ‘अस्पतालले जान दिदैन’ दीपक भन्छन् ।
जीवन परिवारका माइला छोरा हुन् । उनका दाजु, दिदी र दुई भाइ छन् । गत कात्तिक अन्तिम साता उनको दाजु नवीनले आत्महत्या गरे । भदौ १४ गते आमाको वर्ष दिनको काम भयो । ‘आमाको काम र दाजुको दाहसंस्कारमा जान पाइनँ’ गहभरी आशु पार्दै जीवनले सासले भने ‘म यहीँको यहीँ छु ।’
जीवनका बुबा छोराका उपचारका लागि भन्दै विराटनगरसम्म आएका थिए । तर उपचार खर्च ल्याउछु भन्दै हिँडेको पनि दुई महिना बित्यो । ‘एउटा छोरो भर्खर बित्यो, अर्काे छोरालाई ल्याउन पाएको छैन’ टेलिफोन सम्पर्कमा बुबा गणेशले भने ‘मसँग पैसा छैन, प्रशासन धाउँदा सहयोग पाइनँ ।’ उनले छोराको लागि सहयोगी खोजिरहेको बताए ।
रडले हान्ने छुटे, ठेकेदार सम्पर्कविहीन
जीवन घाइते भएको घटनास्थल र जीवनको घर खोला वारी पारी पर्छ । गत असार ५ गते जीवन सांघातिक आक्रमण गर्ने चारजनालाई भोजपुर प्रहरीले पक्राउ गरेको थियो ।
रडले प्रहार गरेको आरोपमा पक्राउ परेकाहरुलाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गर्यो । अभद्र व्यवहार भएका कारण पक्राउ परेकाहरु धरौटी बुझाएर छुटिसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरमा प्रमुख डीएसपी नरबहादुर सलामीमगरका अनुसार झगडामा जीवनको समूह नै दोष देखिएको छ । ‘इखुवा हाइड्रोमा काम गर्ने मजदुरसँग उनीहरु बसेकै ठाउँमा गएर झगडा भएको देखिन्छ’ उनी भन्छन् ‘वस्तुस्थिति हेर्दा भाग्ने क्रममा घाँटीमा तारले चोट लागेको देखिन्छ ।’
उपचारका लागि ठेकेदारलाई आग्रह गरिएको उनले बताए । कुटपिटमा संलग्न चारजना ठेकेदार सञ्जय गिरी मातहतमा काम गर्ने मजदुर थिए । सुरुका दिनमा पीडित परिवारसँग सम्पर्कमा रहेका सञ्जय पछिल्लो समय भने पीडित परिवारको सम्पर्कमा छैनन् ।
अस्पताल भन्छ : आफन्त आएनन्
यता विराटनगर अस्पताल प्रशासनले भने विरामीको जिम्मा लिन कोही आफन्त नआएको बताउँछन् । अस्पतालका लेखा अधिकृत सुवास पोखरेलका अनुसार जीवनका आफन्त नआएका कारण अस्पतालले सबै खर्चको हिसाब गरेको छैन । ‘उपचार खर्च तीन लाख हाराहारी पुग्यो होला’ उनी भन्छन् ‘गम्भीर अवस्थामा आएको विरामी भेण्टिलेटरमा पनि बसेको थियो ।’
उनका अनुसार जीवनको अब घाँटीको अप्रेसन गर्नुपर्ने छ । घाँटीमा प्वाल पारेर पाइपमार्फत सास फेर्न सहज बनाइएको छ । घाटीको अप्रेशन नगरे उनको अवस्था झन जटिल बन्न सक्छ । ‘हामीले कोही आफन्त नहुँदा रिक्स लिएर उपचार गर्यौं’ पोखरेलले भने, ‘ आफन्त आए हामीले सक्ने छुट दिन्छौं ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । प्रहरी कार्यालयको नाम र लोगो प्रयोग गरी ‘Madheshpolice Janakpurdham’ नामक फेक पेजमार्फत भ्रामक सूचना र असम्बन्धित सामग्री पोस्ट गरिन थालेपछि बुधबार प्रहरीले एक विज्ञप्ति जारी गर्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको हो । प्रहरीका अनुसार कार्यालयको आधिकारिक फेसबुक पेज भने ‘Madhesh Province Police Office, Janakpurdham’ हो, जसबाट मात्र कार्यालयका नियमित गतिविधि र सूचनाहरू […]

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले पत्रकारितामा लैङ्गिक संवेदनशीलता अनिवार्य रहेको बताउनुभएको छ । पत्रकार महिला मञ्च दाङले शुक्रबार घोराहीमा आयोजना गरेको सञ्चार क्षेत्रमा पत्रकार महिलाको सुरक्षित वातावरण निर्माण सम्बन्धी प्रारम्भिक परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै सचिव प्रियासनले सञ्चारकर्मी महिला र पुरुषबीचको समानतामूलक व्यवहार मात्र सशक्त पत्रकारिताको माध्यम बन्ने बताउनुभयो । उहाँले […]

  काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले यो घोषणा गरेका हुन्। यसअघि नेपाली नागरिकलाई विदेश यात्रा गर्दा २ हजार ५ सय अमेरिकी डलरसम्म मात्रै लैजान पाइन्थ्यो। अब यो सीमा बढाएर ३ हजार पुर्‍याइएको छ, जसले वैदेशिक यात्रामा सहजता ल्याउने अपेक्षा गरिएको […]

error: Content is protected !!