बाँके । नेपालगञ्जको सीमावर्ती भारतीय बजार रुपईडिहा क्षेत्रमा भीषण सडक दुर्घटना भएको छ । आज विहान करिब सात बजे रोडवेज बस र माल वाहक ट्रेलर एकआपसमा ठोक्किएका हुन् ।
घना कुहिरोका कारण भएको दुर्घटनामा ट्रेलरका चालक गम्भीर घाइते भएका छन् । रुपईडिहा थाना क्षेत्रको कुतुबुद्दीन कलवारी गाउँका पासमा भएको दुर्घटनामा ट्रेलर चालक भारतको पंजाब निवासी २६ वर्षीय रवी कुमार गम्भीर घाइते भएका हुन् । बसमा सवार सबै यात्रु सकुशल रहेका छन् । रोडवेज बसमा केही नेपाली यात्रुसहित भारतीय यात्रु सवार थिए । सबै यात्रु सकुशल रहेको र आ–आफ्नो गन्तब्यमा गईसकेको रुपईडिहाबाट सहकर्मी सन्तोष शुक्लाले जनाएका छन् ।
घाइते ट्रेलर चालकको चर्दास्थित सिएचसी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल बहराइच रिफर गरिएको भारतीय प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरीलाई उधृत गर्दै सहकर्मी शुक्लाले जनाएका छन् ।