काठमाडौं । जेनजी विध्वंसको दोस्रो दिन, २४ गते प्रहरीमाथि भएको कुटपिट र निर्मम आक्रमणको घटनामा कार्की आयोगको प्रतिवेदन मौन देखिएको छ। घटनामा सुरक्षाकर्मीमाथि भएको गम्भीर आक्रमणलाई बेवास्ता गरिएको भन्दै आयोगको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठ्न थालेका छन्।
सार्वजनिक रुपमा आएका विवरणअनुसार उक्त दिन प्रहरीमाथि कुटी कुटी आक्रमण गरिएको थियो। तर, यति संवेदनशील र गम्भीर विषयमा आयोगको प्रतिवेदनले स्पष्ट धारणा नराख्नु आश्चर्यजनक मानिएको छ। यसले प्रतिवेदन एकपक्षीय ढंगले तयार गरिएको हो कि भन्ने आशंका समेत जन्माएको छ।
अझ रोचक कुरा के छ भने, आयोगका अध्यक्ष कार्की स्वयं विगतदेखि नै विवादित व्यक्तिका रूपमा चिनिन्छन्। त्यस्ता व्यक्तिलाई नै जाँचबुझ आयोगको नेतृत्वमा राख्नु तत्कालीन अन्तरिम सरकार (सुशीला कार्की नेतृत्व) को निर्णयमाथि पनि प्रश्न उठेको छ।
विश्लेषकहरू भन्छन् यदि सत्य घटनालाई पूर्ण रूपमा समेट्ने उद्देश्य हो भने, कुनै पनि पक्षको हिंसा वा अतिरेकलाई नजरअन्दाज गर्नु हुँदैन। प्रहरीमाथि भएको आक्रमणलाई बेवास्ता गर्नु न्यायिक प्रक्रियामाथि नै अविश्वास पैदा गर्ने कदम हुन सक्छ।
प्रश्न उठेको छ, के आयोगले सम्पूर्ण सत्य उजागर गर्न खोजेको हो, वा चयनात्मक रूपमा प्रतिवेदन तयार गरिएको हो?