२७ कार्तिक २०८३, शुक्रबार
13-11-2026 , Fri
×

पर्यटनको सम्भावना बोकेको घोरदौरामा मौलिक भैलोमार्फत प्रचारप्रसार, नाइट स्टे गर्ने पर्यटकको आकर्षण बढ्दै

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, कार्तिक २७, २०८३

 

घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा अवस्थित घोरदौरा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। घोराही बजारदेखि करिब छ किलोमिटर उत्तरमा पर्ने पहाडी क्षेत्रमा अवस्थित घोरदौरा प्राकृतिक सौन्दर्य, शान्त वातावरण र रमणीय दृश्यका कारण पर्यटकीय केन्द्र बन्ने प्रचुर सम्भावना बोकेको ठाउँ हो।

पहाडी भूगोल, स्वच्छ वातावरण र प्राकृतिक सुन्दरताले भरिपूर्ण घोरदौरामा पछिल्लो समय नाइट स्टे (रात बिताउने) गर्नेहरूको उपस्थिति बाक्लिँदै गएको छ। दिउँसो घुमफिर गर्न जानेहरूको सङ्ख्या पनि दिनप्रतिदिन बढिरहेको छ। घोराही बजारबाट नजिकै रहेकाले पनि यो क्षेत्र आन्तरिक पर्यटनका लागि उपयुक्त गन्तव्य बन्न सक्ने देखिएको छ।

यद्यपि घोरदौरा पुग्ने सडक कालोपत्रे नहुँदा पर्यटकले केही असहजता भोग्नुपरेको छ। सडक पूर्वाधारको स्तरोन्नति, व्यवस्थित पर्यटकीय संरचना, प्रचारप्रसार र स्थानीयस्तरमा उद्यमशीलताको विकास गर्न सके घोरदौरालाई घोराहीकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने सम्भावना छ।

यसैबीच घोरदौराको पहिचान र प्रचारप्रसारलाई व्यापक बनाउन घोरदौरा टोल विकास संस्थाले विभिन्न सिर्जनशील गतिविधि सञ्चालन गरिरहेको छ। घोरदौराको प्राकृतिक सुन्दरता, स्थानीय कला, संस्कृति र मौलिक पहिचानलाई बाहिर चिनाउने उद्देश्यले संस्थाले यस वर्ष मौलिक भैलो कार्यक्रमसमेत आयोजना गरेको छ।

घोरदौरा टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर बुढाको अगुवाइमा स्थानीयवासीलाई एकताबद्ध गर्दै पर्यटकीय क्षेत्रको विकास र प्रचारप्रसारका गतिविधि अघि बढाइएको छ। मौलिक भैलोमार्फत स्थानीय कला र संस्कृतिको संरक्षणसँगै घोरदौरालाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउने प्रयास गरिएको अध्यक्ष बुढाले बताउनुभयो।

स्थानीयवासीको उत्साह र सिर्जनशील कामलाई प्रोत्साहन गर्न नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन, वरिष्ठ पत्रकारहरू उदय जिएम, नरेन्द्र केसी, केशरमान बुढाथोकी, गोविन्द खड्का र कमल ओली घोरदौरा पुगेर मौलिक भैलोमा सहभागी हुनुभएको थियो।

सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासनले घोरदौरा घोराहीको पर्यटन र उद्यमशीलताको महत्त्वपूर्ण केन्द्र बन्न सक्ने बताउनुभयो। उहाँले भन्नुभयो, **“घोरदौरा प्राकृतिक रूपमा अत्यन्त सुन्दर र सम्भावनायुक्त ठाउँ हो। घोराही बजारबाट यति नजिक रहेको यस्तो रमणीय क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ। यहाँको प्रचारप्रसारसँगै सडक, पूर्वाधार, होमस्टे, स्थानीय उत्पादन र उद्यमशीलताको विकासमा ध्यान दिन आवश्यक छ।”**

उहाँले स्थानीयवासी आफैँ आफ्नो ठाउँको विकास र प्रचारप्रसारमा सक्रिय हुनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै स्थानीय कला, संस्कृति र मौलिकतालाई पर्यटनसँग जोड्न सके आर्थिक गतिविधिसमेत बढ्ने बताउनुभयो।

प्रियासनले थप्नुभयो, **“पर्यटन भनेको घुम्न आउने मानिसको सङ्ख्या बढाउनु मात्र होइन, स्थानीय नागरिकको आम्दानी र रोजगारी बढाउनु पनि हो। घोरदौरामा आउने पर्यटकलाई स्थानीय उत्पादन, खानपान, संस्कृति र आतिथ्यसँग जोड्न सक्नुपर्छ। यसका लागि स्थानीय सरकार, टोल विकास संस्था र नागरिक सबै मिलेर काम गर्नुपर्छ।”**

वरिष्ठ पत्रकारहरूले पनि घोरदौराको प्राकृतिक सुन्दरता र पर्यटनको सम्भावनालाई उजागर गर्न सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्नुपर्ने धारणा राख्नुभएको थियो। उहाँहरूले स्थानीयस्तरबाट सुरु भएका यस्ता सिर्जनशील अभियानले पर्यटकीय क्षेत्रको पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

घोरदौरालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके नाइट स्टे, होमस्टे, स्थानीय खानपान, कृषि उत्पादन, फलफूल खेती, सांस्कृतिक कार्यक्रम र अन्य उद्यमशील गतिविधिका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सकिनेछ।

स्थानीयवासीको सक्रियता, टोल विकास संस्थाको नेतृत्व र सरोकारवालाको सहयोगलाई निरन्तरता दिन सके घोडदौरा भविष्यमा घोराहीको मात्र नभई दाङ जिल्लाकै आकर्षक पर्यटन गन्तव्य बन्न सक्ने देखिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित हनुमानगढीमा १०८ फिट अग्लो भगवान् हनुमानको भव्य मूर्ति निर्माण सम्पन्न भएको छ। १४ करोड ४ लाख ६३ हजार रुपैयाँ लागतमा निर्माण गरिएको यस धार्मिक संरचनाले नेपालगञ्जको धार्मिक पहिचान, पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधिमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। हनुमानगढीमा भव्य मूर्ति निर्माण सम्पन्न भएपछि नेपालगञ्ज धार्मिक पर्यटनको […]

  घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा अवस्थित घोरदौरा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। घोराही बजारदेखि करिब छ किलोमिटर उत्तरमा पर्ने पहाडी क्षेत्रमा अवस्थित घोरदौरा प्राकृतिक सौन्दर्य, शान्त वातावरण र रमणीय दृश्यका कारण पर्यटकीय केन्द्र बन्ने प्रचुर सम्भावना बोकेको ठाउँ हो। पहाडी भूगोल, स्वच्छ वातावरण र प्राकृतिक सुन्दरताले भरिपूर्ण […]

  बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न भलाद्मी मान्यजनहरूसँग राष्ट्रिय जनमत पार्टी बुलडोजर छाप नेपालगन्जका नेता इरफान अहमद शेषद्वारा छलफल तथा अन्तरक्रिया कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिका-८ मा सम्पन्न गरेको छ। कार्यक्रममा सहभागी प्रायः सबै सहभागीहरूले आउने स्थानीय सरकारको निर्वाचनमा बुलडोजर छापलाई सघाउने प्रतिबद्धता जनाएका छन्। नेता इरफान अहमद शेष नेपालगन्ज *राष्ट्रिय जनमत पार्टी जिन्दावाद । *बुलडोजर छाप […]