काठमाडौँ । उपत्कायकास्थित बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने क्रम आज (शनिबार) पनि जारी छ।
सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा-१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ ।
कामपा-१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए।
‘स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी छ’, उनले भने।
यसअघि सरकारले शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा नदी किनारमा रहेको जोखिमयुक्त बस्ती हटाएको थियो।
हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएका करिब दुई हजार घरटहरा हटाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।
बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’मा पठाइएको छ।
सहरी विकास मन्त्रालयका आधिकारीहरूले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भूमिहीन परिवारको लगत संकलन गरिरहेको छ।