दाङ । भालुवाङ देउखुरी, लेख्ने र बोल्ने स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन् । कुनैपनि समयमा लोकतन्त्रमाथि कोही कसैले धावा बोल्ने काम गर्छभने त्यस्ता कुनैपनि कुरा स्वीकार्य नहुने बताइएको छ । नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेश सदस्य ओम प्रकाश गुप्ताले सो कुरा बताएका हुन् ।
सञ्चार माध्यममा पत्रकारहरूलाई जिम्मेवार, तथ्यमा आधारित र सत्यनिष्ठ भएर आफ्नो कलम चलाउन आग्रह गरेका गुप्ताले राज्यले पनि पत्रकारहरूको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने दाबी गरेका छन् ।
दीप प्रज्वलन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनलेे “स्वतन्त्र प्रेस बिना लोकतन्त्र सुदृढ हुन नसक्ने ,” धारणा स्पष्ट पार्दै , “ पत्रकारलाई स्वतन्त्र र निर्धक्कका साथ भयरहित वातावरणमा कलम चलाउन दिनु राज्यको दायित्व हो ” भनेर ठोकुवा गरे ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आइतवार साँझ राप्ती प्रेस मञ्चले लुम्बिनी प्रदेश सभा जाने बाटोमा आयोजना गरेको थियो । सोही दीप प्रज्वलन कार्यक्रममा सम्बोधन गर्ने क्रममा गुप्ताले सो कुराको खुलेर चर्चा गरेका थिए । मिडियामाथि हुने हस्तक्षेप, आक्रमण तथा विभेद अन्त्य गर्न र सबै सञ्चार माध्यमलाई समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
पत्रकारहरूको पेशागत हकहित, सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र सूचनामा पहुँच सुनिश्चित गर्न ठोस नीति तथा कार्यक्रम तर्जुमा गर्नपनि जोडदार माग गरेका छन् ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले नेपालमा प्रेस स्वतन्त्रता संवैधानिक रूपमा सुनिश्चित भएपनि व्यवहारिक रूपमा अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको यथार्थ अवस्था जाहेर गरेका छन् ।
पछिल्लो समय पत्रकारहरूलाई स्वतन्त्र रूपमा रिपोर्टिङ गर्ने वातावरण कमजोर बन्दै गएको प्रसंग चर्चा गर्दै चिन्ता व्यक्त गरेका छन् । “पत्रकारिता भनेको स्वतन्त्र र निष्पक्ष हुनुपर्ने सत्यता पनि औंल्याएका हुन् । यसैका लागि राज्यले सुरक्षित र सहज वातावरण सुनिश्चित गर्नुपर्छ,” सो दीप प्रज्वलन कार्यक्रमका वक्ताहरूको साझा धारणा आएको थियो ।
प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ताको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा एबिसी सञ्चार डटकमका सञ्चालक सागर थापा, मञ्चका कोषाध्यक्ष लक्ष्मी पोख्रेल, सदस्य मोतीराम भट्टराई लगायतका वक्ताहरूले बोल्नु भएको थियो । मञ्चका सचिव देवेन्द्रराज कडेल (श्रीधर)को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन एबिसी सञ्चार डटकम अनलाइन, भण्डाफाेर टिमका समाचार प्रमुख एवम् मञ्चका सदस्य विदुर एम सीले गरेका थिए ।